Tue. Nov 26th, 2024

गोरखाका भूकम्पपीडितमा डेङ्गु पुष्टि

jogidanda-dhading-earthuquake-19
२९ असोज, गोरखा –  भूकम्पले घर भत्केपछि बारीको पाटामा अस्थायी टहरोमा बस्दै आएका गोरखाका भूकम्पपीडितलाई डेङ्गु रोगको लक्ष्यण देखा परेको छ ।

टहरोमा सङ्कटपूर्ण तबरले गुजारा चलाउँदै आएका भूकम्पपीडितमा डेङ्गु रोग लाग्दा देखिने केही लक्ष्यण देखिएपछि जिल्ला अस्पताल गोरखाले थप उपचारका लागि चितवनस्थित अस्पतालमा पठाएको छ ।

देउराली गाविसकी एक महिलामा डेङ्गु रोग देखिएको पुष्टि भए पनि अन्य बिरामीको प्रतिवेदन आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ । चितवन बसेर हालै गोरखा आएकी महिलामा डेङ्गु रोग देखिएको हो । बिरामीको नाम गोप्य राखिएको छ ।

त्यस्तै सोही गाविसका अर्का एक पुरुषमा पनि डेङ्गु रोगको लक्षण देखिएपछि चितवनस्थित अस्पतालमा भर्ना गरिएको छ । “चितवन बसेर फर्केकी एक जनालाई डेङ्गु देखिएको हो” जिल्ला अस्पताल स्रोतले भन्यो, “उनको उपचार भइरहेको छ । लक्षण देखिएका अन्यको प्रतिवेदन आइसकेको छैन ।” लामखुट्टेले टोकेपछि डेङ्गु रोग एक अर्कामा सर्छ ।

बिरामीलाई उच्च ज्वरो आउने, मांसपेशी तथा हाडजोर्नी दुख्ने, रिङ्गाटा लाग्नेजस्ता लक्षण देखिएको बिरामीका आफन्तजनले बताएका छन् ।

गत वर्ष पनि गोरखाका एक जनामा देखिएको डेङ्गु रोग उपचारपछि निको भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले नेपालका गर्मी ठाउँमा डेङ्गु रोग देखिए पनि पहाडमा कम मात्रामा देखिएको बताए । रासस

About The Author

अन्य समाचारहरु: