२६ असोज, नवलपरासी – भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हुँदा एम्बुलेन्ससमेत चल्न सकेको छैन । एम्बुलेन्सलाई प्रशासनले पाँचरसात दिनमा जम्मा ३० देखि ४० लिटर डिजलको कुपन दिएपनि त्यसले तेल नपुगेकाले एम्बुलेन्स सेवासमेत प्रभावित भएको हो ।
तेल अभावका कारण एम्बुलेन्स बन्द गर्नु परेको एम्बुलेन्स सञ्चालक समिति नवलपुरका सचिव कपिल न्यौपानेले बताउनुभयो । नवलपरासीको नवलपुर क्षेत्रमा इन्धन अभावले एम्बुलेन्स नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको भन्दै एम्बुलेन्स सञ्चालकहरुले ज्ञापन पत्र बुझाएपछि प्रशासनले कुपन प्रणालीमा तेल वितरण सुरु गरेको थियो ।
कुपन फिर्ता आउन थालेपछि सेवाग्राहीहरु झन् मारमा परेका छन् । प्रशासनले सञ्चार गृह, एम्बुलेन्स, बैंकलगायत अत्यावशीय क्षेत्रमा कुपन मार्फत तेल वितरण गरेको छ । तर तेल दिँदा प्रशासनका नजिकमा मान्छेलाई मात्र दिइएकाले एम्बुलेन्स नै बन्द गर्ने अबस्था आएको एम्बुलेन्स सञ्चालकहरुले गुनासो गरेका छन् । धान काट्ने भन्दै ट्यांकरहरुलाई प्रशासनको मिलेमतोमा कुपन बाँड्दा समस्या भएको एम्बुलेन्स सञ्चालकहरुको दाबी छ ।