धादिङ : भारतले गरेको अघोषित नाकाबन्दी र विगत एक महिनादेखि चलिरहेको तराइ आन्दोलनका कारण पेट्रोलियम पदार्थको आपुर्ति सहज नुहँदा धादिङको जनजिवन पनि प्रभावित हुदै गएको छ । बजारमा ग्यासको विक्री वितरण ठप्प नै भएको छ भने पेट्रोलियम पदार्थको विक्री वितरणमा सहज नहुँदा आउँदा जनजिवन अस्त ब्यस्त हुन थालेको छ । सिमित मात्रामा तेलको वितरण भइरहे पनि खाना पकाउने एल पि ग्यासको विक्रीवितरण भने पुरै ठप्प भएको छ । बजारमा ग्यास नपाउदा विशेष गरि सदरमुकाममा घर भाडामा बस्नेहरु र होटलब्यवसायीहरु बढी प्रभावित भएका छन । बजारमा स्टक रहेको ग्याँस सकिएको र ग्याँस आपुर्ति पनि नहुँदा उपभोक्ताहरुलाई खाना पकाउन समस्या भएको छ ।
गाँउमा जस्तो बैकल्पिक रुपमा दाउरा पनि नपाईने भएकाले बजारमा बसेका मानिसहरुले ग्याँस नपाउदा उनिहरुको दैनिक जिवन कष्टकर बन्दै गएको छ । कोठामा खाना बनाउने ग्याँस सकिएको र बजारमा खोज्दा पनि कही नपाएपछि अहिले निकै समस्या भएको नीलकण्ठ ३ सुगमटोलकि शान्ति थापाले बताइन् । उनले भनिन्, ‘बजारमा ग्यास छैन, कोठमा सकियो । अरुको घर भाडामा लिएर बसिएको छ दाउरा खोजर पकाउन ठाउँ छैन । अहिले त अर्को कोठाका साथीहरु संग सामुहिक खानपिनको ब्यवस्था गरेका छौ अव यसरी त कतिन्जेल चल्ला र ?’ होटल ब्यवसायीहरुले त ग्यासको विकल्पमा ठुला ठुला भुसे चुलोहरु र दाउराहरुको ब्यवस्था गर्न थालेका छन् ।
धादिङवेशीमा लामो समयदेखि खाना पकाउने ग्यासको कारोवार गर्दे आएका प्रविण श्रेष्ठले भने, ‘नाकाबन्दी भन्दा धेरै अघिदेखि ग्यास नै धादिङवेशीमा ग्यासको आपुर्ति भइरहेको छैन । तराइमा चलेको आन्दोलनका कारण ग्यास आउन नसकिरहेको बेला नाकाबन्दी भएपछि घर मा ग्यास हुनेहरुले समेत खरिद गरेर स्टक राखेकाले संकट पर्दै गएको छ ।’
पसलमा ग्याँस नभएपनि दैनिकजस्तो ५०–६० जना उपभोक्ताहरु ग्याँस आयो कि भनेर सोध्न आउने गरेको कारण व्यापारीहरु समेत पसलमा ग्यास नभएको व्यानर नै बनाएर टाँस्न थालेका छन् ।
धादिङको पृथ्वीराजमार्ग क्षेत्रमा मात्रै १३ वटा ग्यास कम्पनीका रिफिलिङ सेन्टरहरु छन तर ग्यासका बुलेटहरु नाकाहरुमै रोकिएकाले अहिले रिफीलिङ कार्य बन्द भएको र ग्यासका सिलिण्डरहरु बजारमा पठाउन नसकिएको रिफिलिङ सेन्टरका ब्यवस्थापकहरुले बताएका छन । तर स्थानियहरुले भने नाकाबन्दी हुनअघिदेखि नै स्टक रहेका ग्यास सिलिण्डरहरु रातीको समयमा पहुँचबालाहरुको दवावमा बजारमा गइरहेको बताउदै स्थानिय प्रशासनलाइ अनुगमनको आग्रह गरिरहेपनि स्थानिय प्रशासनले ग्यासका रिफीलिङ सेन्टरहरुको अनुगमनमा खासै चासो देखाएको छैन ।
नेपाल आयल निगमले ५ दिनको अन्तरमा सिमित मात्रामा पेट्रोलियम पठाउदा डिजेल तथा पेट्रोल भर्ने सवारी साधनहरुको लामो लाइन नै लाग्न थालेको छ । सदरमुकाममा एउटा मात्रै पम्प रहेको ५ दिनको अन्तरमा सिमित मात्रामा तेल आउदा तेल भर्ने सवारीसाधनहरुको चापको कारण ट्राफिक ब्यवस्थापन नै अस्तब्यस्त हुने थालेको छ । पम्पका संचालक टंक कुमार श्रेष्ठले भने, ‘सरकारले नै कोटा प्रणालीअनुसार तेल वितरण गरेपछि ५ दिनको अन्तरमा धादिङमा सिमित मात्रामा तेल आउँछ, तेल आएपछि शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर जिल्ला प्रशासनको समन्वयमा तेल वितरण गर्दे आएका छौँ ।’ यात्रुबाहक बस, एम्वुलेन्स, दुध, तरकारी र कुखुरा बोक्ने सवारी साधनहरुलाइ प्र्राथमकितामा राखेर तेल वितरण गरिरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सविन प्रधानले बताए ।