चितवन – चितवनमा दूध अन्डा र मासु उत्पादनमा वृद्धि भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार व्यावसायिक कृषि तथा पशुपालनमा वृद्धि भएकाले उत्पादनसमेत बढेको हो । अहिले जिल्लामा ७० हजार बढी गाईपालन हुँदै आएको छ । अघिल्लो आव २०६९/७० देखि आव २०७१/७२ सम्मको उत्पादनलाई हेर्दा यहाँ दूधमा सात हजार ५६२ मेट्रिक टन उत्पादन बढेको छ । यस्तै मासुमा एक हजार ३९६ मेट्रिक टन र अन्डामा दुई करोड वटा अन्डा उत्पादनमा वृद्धि भएको छ । अन्डामा २४ करोड वटाबाट अहिले बढेर २६ करोडभन्दा बढी उत्पादन भएको छ ।
आव २०६९/७० मा दूध ७९ हजार ५१५ मेट्रिक टन उत्पादन भएको थियो । २०७०/७१ मा ८२ हजार ९०० उत्पादन भएकोमा गएको वर्ष २०७१/७२ मा ८७ हजार ७७ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिए । यस्तै २०६९/७० सालमा १९ हजार मेट्रिक टन मासु उत्पादन भएकोमा २०७०/७१ मा १९ हजार ८१७ र २०७१/७२ मा २० हजार ४२९ मेट्रिक टन मासु उत्पादन भएको कार्कीले जानकारी दिए । यस्तै २०६९/७० मा अन्डा २४ करोड वटाभन्दा बढी उत्पादन भएकोमा आव २०७०÷७१ मा २५ करोड तथा आव २०७१/७२ मा २६ करोड २७ लाखभन्दा बढी वटा अन्डा उत्पादन भएको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लामा अहिले व्यावसायिक कुखुरा फार्म ९०० छ । यस्तै व्यावसायिक गाई फार्म २०० र दुग्ध उत्पादक सहकारी संस्था १३८ रहेको छ । यहाँ पशुसेवा कार्यालयमार्फत अनुदानका कार्यक्रमसमेत सञ्चालन हुँदै आएको कार्यालय प्रमुख कार्की बताउनुहुन्छ । गएको वर्ष दुग्ध क्षेत्रमा मात्रै करिब रु ६० लाख बढीको अनुदानका कार्यक्रम सम्पन्न भएका छन् । अहिलेको आन्दोलन र नाकाबन्दीले कृषि क्षेत्र समेत नराम्ररी प्रभावित भएको छ । उत्पादनजन्य वस्तु बाहिर लैजान पाएका छैनन् भने आवश्यक कच्चापदार्थसमेत ल्याउन नसकिएको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । रासस