सिन्धुपाल्चोक -पाँच महिनादेखि लगातार बन्द रहेको अरनिको राजमार्गको बाह्रबिसे कोदारी खण्ड शुक्रबारबाट सुचारु भएको छ ।
डिभिजन सडक कार्यालय चरिकोटको अथक प्रयासले लिपिङ बजारको पहिरोसँगै आएको चट्टानमाथि नै सडकको ट्रयाक खुलाएपछि नेपाल चिन जोड्ने पहिलो नाकाको सडक सुचारु भएको हो ।
पछिल्लो समय भदौ १५ देखि राजमार्गको बाह्रबिसे कोदारी २६ किलोमिटर सडक सुचारु गराउन सडक डिभिजन कार्यालयले पहल थालेको थियो । उक्त खण्डको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउँदै शुक्रबार साँझ करिब छ बजे सिमा क्षेत्रको लिपिङ बजार सम्म साना सवारी साधन चल्न सक्ने गरी सडक सुचारु गराइएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख रामहरी पोखरेलले बताए ।
पोखरेलका अनुसार शुक्रबार साँझ लिपिङ बजारको पहिरोको व्यवस्थापन गर्दै सडक निर्माण भएपछि साना सवारी साधन नेपाल चिन सिमाको मितेरी पुल पुगेको छ ।सडकको ट्रयाक खुलेपनि व्यापारिक प्रयोजनका कन्टेनरका लागि केही ठाउँमा सडक साँघुरो भएकाले भोलीदेखि सडक सुधारको काम थालिने डिभिजन सडक कार्यालय अन्र्तगत अरनिको राजमार्ग हेर्दै आएका इन्जिनियर रामबहादुर गुरुङले बताए ।
गुरुङका अनुसार राजमार्गको काठमाडौबाट एक सय तीन किमी, घट्टे खोलो र लिपिङ बजारको पहिरोमा केही सुधार गरेपछि व्यापारिक प्रयोजनका कन्टेनर समेत सहज रुपमा सिमा पार गर्न सक्नेछन् । सडक कार्यालयले नौ वटा स्काभेटर, ब्रेकर लगायत औजारको प्रयोगले साता लाग्ने अनुमान गरिएको पहिरोबाट तीन दिनमै सडक सुचारु गराएको छ ।
सडक सुचारु गराएपछि सिमाक्षेत्रका बासिन्दाले व्यवसाय सञ्चालन हुनेमा आशावादी हुँदै खुसियाली मनाएका छन् । ‘राष्ट्रिय चासोको विषय भएकाले हामीले विभिन्न कठिनाइसँग जुध्दै सडक मर्मतको काम अघि बढायौं’, इन्जिनियर गुरुङले भने, ‘अबको दुई दिनभित्र हामी कन्टेनर आवतजावत गर्नसक्ने गरी सडको स्तरोन्नति गर्न सक्छौं ।’
सडक मर्मतमा खटिएका गुरुङका अनुसार सडक सुचारु भए लगत्तै सिमामा रहेका चिनियाँ सुरक्षा अधिकारीलाई जानकारी गराइएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि गत बैशाख १२ को भुकम्प र त्यसपछिका वर्षादका करण लगातार बन्द रहेको तातोपानी नाका तत्काल सुचारु गराउन सरकारी निकायले बढि पहल गरेको थियो ।
भारततर्फका सबै नाका बन्दका कारण बजारमा दैनिक उपभोग्य सामान समेत पाउन नसक्ने अबस्थामा पुगेपछि सरकारी तबरबाटै तातोपानी नाका खुलाउने चटारो बढेको थियो । भारतबाट आयात हुने केही सामाग्री तातोपानी हुँदै चीनबाट ल्याउन सकिने बिकल्पका रुपमा उच्च तहमै नाका छिटो सञ्चालनमा ल्याउने बारेमा छलफल चलेको थियो । सरकारका प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले सडक डिभिजन कार्यालय र सम्वद्ध कर्मचारीलाई यथाशक्य नाका खुलाउन निर्देशन दिएका थिए ।
भुकम्पपछि अरनिको राजमार्गको बाह्रबिसे कोदारी खण्डको २६ किलोमिटर सडकको विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सडक सुचारु भएसँगै सरकारबाट कुटनितिक पहल भएमा तातोपानी नाकाबाट तत्काल व्यवसाय सञ्चालन हुने वातावरण सिर्जना भएको छ ।
सिमामा रहेका चिनिया सुरक्षा अधिकारीका अनुसार खासादेखि सिगात्सेसम्मको सडकमा कुनै समस्या नभएकाले पनि चिन सरकारले बैशाख १२ को भुकम्पपछि असुरक्षाको कारण देखाउँदै स्थानान्तरण गरेको भन्सार र अध्यागमन लगायतका कार्यालय सिमामा सञ्चालन गराउनासाथ व्यवसाय सञ्चालन गर्न सकिने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमल श्रेष्ठले बताए ।
दक्षिणी नाकामा अघोषित नाका बन्दि भएका बेला उत्तरी नाका सहज रुपमा सञ्चालनमा आए पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामान पनि सहज रुपमा भित्राउन सकिने सर्वसाधारणको अपेक्षा छ । अन्नपूर्णबाट