१५ असोज, काठमाडौं – अमेरिकाको ओरेगन राज्यमा अवस्थित उम्पक्वा सामुदायिक कलेजमा विहीबार एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ९ विद्यार्थीको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् ।
ग्रामीण भेगमा नदीको किनारामा रहेको यो कलेजमा करिब ३ हजार विद्यार्थी अध्ययनरत थिए । गोलीकाण्डपछि भागाभाग हुँदा केही विद्यार्थीहरु सम्पर्कविहीन बनेका छन् ।
गोली चलाउने २० वर्षीय युवक प्रहरी कारवाहीमा मारिएको बीबीसीले लेखेको छ ।
घटनास्थलमा पुगेका एक सय सुरक्षाकर्मीले प्रत्येक विद्यार्थीहरुको झोला र शरीर खानतलासी गरेका छन् । कलेजका प्रत्येक कोठाहरुमा खानतलासी गरिएको छ ।
घटनापछि अभिभावक र विद्यार्थीहरुमा रुवाबासी र त्रास फैलिएको छ । गोलीकाण्डबारे तत्कालै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई जानकारी गराइएको छ ।
प्रत्यक्षदर्शीले भनेका छन् कि गोली चलेको आवाजसम्म सुनिएको थिएन । बन्दुकधारीले आवाज नआउने बन्दुकबाट गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।