धादिङ – नेपाल सरकारको निर्णय अनुसार जिल्ला विकास समितिको कार्यालय धादिङमा सरुवा भएर आएका स्थानीय विकास अधिकारी भगवान अर्याललाई स्वागत गरिएको छ ।
बुधबार कार्यलयमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको हो । अर्याल यसअघि हेटौंडा उमपहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
कार्यालयवाट आयोजना भएको स्वागत कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारीले आफ्नो कार्यकालमा जिल्ला विकास समितिको हालको भूमिका र मर्यादालाई कायम राख्दै अझ उचो बनाउन आफुले सक्दो प्रयास गर्ने बताए । स्थानीय सरकारको रुपमा जिल्ला विकास समितिसंग सवैले अपेक्षा राख्नु स्वाभाविक भएका तर सवै अपेक्षाहरुलाई एकैपटक पुरा गर्न नसकिने भएकोले आवधिक जिल्ला विकास योजनाको लक्ष्य र प्राथमिकताको आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्दै जान सकिएमा नागरिकका अपेक्षा क्रमशः पुरा हुँदै जाने बताए । उनले राजनैतिक दल, विषयगत सरकारी कार्यालय लगायत अन्य सरोकारवालाहरुसंगको समन्वयका साथै कार्यालयको नेतृत्वदायी भूमिकामा स्थानीय विकास अधिकारी रहने र संस्थागत उद्देश्य हासिल गर्न शाखा प्रमुख तथा कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गरे ।
वि.स. २०५३ सालमा निजामति सेवामा प्रवेश गरेका स्थानीय विकास अधिकारी वि.स.२०६६ सालमा खुला प्रतिष्पर्धावाट राजपत्रांकित द्धितिय श्रेणीमा पदोन्नती भएका थिए । स्थानीय विकास अधिकारीको रुपमा प्यूठान जिल्ला विकास समितिको कार्यालयमा कामको अनुभव संगालेका अर्यालसंग राष्ट्रिय योजना आयोगमा समेत काम गरेको अनुभव रहेको छ ।