धादिङ – संविधानसभा मार्फत संविधान जारी गरेर नेपाली जनताको भावनाको कदर गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सभामुख सहित सात जना सांसदलाई बुधवार धादिङबेसीमा नागरिक सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ धादिङको भवन उद्घाटन एवं साधारणसभा उद्घाटन समारोहका बीच बुधबार सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बुर्लाकोटी, धनबहादुर घले, गंगालाल तुलाधर, दिलमान पाख्रिन, परशुराम तामाङ र रविन्द्रप्रताप शाह लाई सम्मान गरिएको हो । सांसदहरुले पत्रकार महासंघको भवन निर्माण सम्पन्न गराउनका लागि सांसद क्षेत्र विकास कोष मार्फन नगद सहयोग गरेका थिए ।
कार्यक्रमकै अवसरमा धादिङका जेष्ठ पत्रकार एवं् नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सीताराम प्रसाद वर्मा र संस्थापक सचिव एवं् पूर्व अध्यक्ष राजेन्द्रप्रताप शाहलाई सम्मान गरिएको हो । यसैगरी भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघको नवनिर्मित भवन ६० लाख रुपैयामा सम्पन्न गरिएको महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिए ।