Tue. Mar 4th, 2025

सभासदले नै पाएनन् संबिधान

sambidan

काठमाडौं – संविधान जारी भएको ६ दिन बितिसकेको छ । तर, आफैँले हस्ताक्षर गरेर बनाएको संविधानको एक प्रति नपाएर सभासद्हरू संविधानसभा सचिवालयमा भौँतारिरहेका छन् । राष्ट्रपति डा। रामवरण यादवले संविधान जारी भएको घोषणा गरेलगत्तै ३ असोजमा संविधानसभा सचिवालयले सबै पाहुना र सभासद्लाई एक–एक प्रति संविधान उपलब्ध गराउने जनाएको थियो ।

तर, ६ दिन बितिसक्दा पनि आफैँले बनाएको संविधान हात नपरेपछि केही सभासद् दैनिक एकपटक सचिवालय पुग्ने गरेका छन् । करिब २२ सभासद्ले संविधानको प्रति नपाएको गुनासो गरेको सचिवालयका कर्मचारीको भनाइ छ । सभासद्हरू जानकी साउद, दुलारी हरिजन, जनक बुढा, दिलमाया धामी, सिर्जना तरामो, जेबी टुहुरे, मोहन टुडू, महेन्द्र शाही, श्याम श्रेष्ठ ९रामेछाप०, गोमा कुँवर, मानपुरा चौधरी, केसरी घर्ती, हरि ज्ञवाली, राधिका तामाङ, राममाया बोगटी, टेकबहादुर बस्नेत, लालबहादुर गुरुङलगायतले राजपत्रमा प्रकाशित संविधान नपाएको गुनासो गरेका हुन् ।

संविधान लिन पुग्ने सभासद्हरूले संविधानसभा सचिवालयको आन्तरिक शाखादेखि महासचिव मनोहरप्रसाद भट्टराईसमेतलाई भेटेर असन्तुष्टि पोखेका छन् । राजपत्रमा प्रकाशित संविधान हात पार्न नसक्ने सभासद् संख्या धेरै रहेको सभासद् जानकी साउदले बताइन् । साउदले संविधान माग्दा आफूलाई रित्तोहात फर्काइएको गुनासोसमेत गरिन् । ‘संविधान जारी भएपछि संविधानसभा भवनमै लिन गएका थियौँ, कर्मचारीले छैन, सकियो भनेर फर्काइदिए,’ साउदले नयाँ पत्रिकासँग भनिन्, ‘सचिवालयले संविधान वितरण गर्नेदेखि अन्य कार्यक्रम पनि व्यवस्थित गर्न सकेन ।

आफैँले बनाएको संविधान पनि हामीले अझै पाउन सकेका छैनौँ ।’ संविधानसभा सचिवालयकै आन्तरिक शाखामा गएर राजपत्रमा प्रकाशित संविधानको प्रति माग्दा नपाएपछि सचिवालयका महासचिवसँग पनि कुरा गरेको साउदले बताइन् । महासचिवले तत्काल सकिएको हुनसक्ने भन्दै छिटै उपलब्ध गराउने बताएको उनको भनाइ छ । सभासद् श्याम श्रेष्ठ ९रामेछाप०ले आफ्नो प्रति सुरक्षित होला भन्ने लागेर लिन जाँदा संविधानसभा सचिवालयमा नपाएको बताए ।

उनले भने, ‘३ गते नै पाउनुपर्ने हो पाइएन, अब सिंहदरबारमा गएर लिनुपर्ला ।’ संसद् सचिवालयले भने सबै सभासद्लाई संविधान जारी भएकै दिन उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । सचिवालयका प्रवक्ता डा। भरत गौतमले सबै सभासद् र आगन्तुकलाई पुग्ने गरी संविधानसभा भवनबाटै तीन हजार प्रति संविधान वितरण गरिएको दाबी गरे । ‘हामीले सबैलाई पुग्ने गरी व्यवस्था गरेका हौँ,’ डा। गौतमले नयाँ पत्रिकासँग भने, ‘सभासद्हरूले कसरी, किन पाउनुभएन, बुझेर नपाएकालाई सचिवालयबाट उपलब्ध गराउने व्यवस्था गर्नेछौँ ।’

सचिवालयले आवश्यक व्यवस्थापन गर्न नसक्दा आफूहरूले राजपत्रमा प्रकाशित संविधान नपाएको गुनासो सभासद्हरूले गरेका छन् । संसद् सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सचिवालयमा छापिएको संविधानको नयाँ प्रति मंगलबार वितरण गरिएको थियो । नयापत्रिकाबाट

About The Author

अन्य समाचारहरु: