Wed. Apr 2nd, 2025

स्ववियु निर्वाचन: त्रिचन्द्र क्याम्पसमा अधिकृतमाथि मोसो प्रहार

काठमाडौं– त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतमाथि मोसो प्रहार भएको छ ।

भोलि गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले मोसो प्रहार गरेका हुन् ।

निर्वाचन समितिले आयोजना गरेको बैठकमा निर्वाचनमा उम्मेदवार बनेका सबै पक्ष सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचन अधिकृत गौतमले निर्वाचनका बाँकी प्रक्रियामा अगाडि बढाएर भोलिको मतदानका लागि भएका तयारीबारे जानकारी गराएका थिए ।

जसरी पनि निर्वाचन रोक्नु पर्ने धारणासहित बैठकमा सहभागी भएका बानियाँ र श्रेष्ठ बैठकबाट बाहिरिए । केहीबेरपछि पुनः निर्वाचन समितिको कार्यालयमा आएका उनीहरूले परैबाट निर्वाचन अधिकृत गौतममाथि मसी प्रहार गरेका हुन् ।

विवादका कारण यसअघि तीन पटकसम्म स्थगित भएको स्ववियु निर्वाचन मंगलबारका लागि तोकिएको छ । जसरी पनि मतदान रोक्ने प्रयासमा रहेकाहरूले घटना गराएको त्रिचन्द्रका विद्यार्थी नेताहरूले जनाएका छन् ।

घटनापछि अनलाइनखबरसँगको कुराकानीमा निर्वाचन अधिकृत गौतमले जसरी पनि निर्वाचन रोक्ने मानसिकताका साथ आएका बानियाँ र श्रेष्ठले आफूमाथि अपशव्द प्रयोग गर्दै मसी प्रहार गरेको बताए ।

गौतमले छलफलको क्रममा निर्वाचन रोक्न पटकपटक दबाब दिएपछि आफूले भोलि पनि मतदान हुन नसके दुई वर्षसम्म निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन रोक्नु पर्ने आधार दिनुस् भनेर मागेको त्यसपछि बाहिरिएका उनीहरू पुनः आएर मसी छ्यापेको बताए ।

About The Author

अन्य समाचारहरु: