
–रामकुमार एलन
जनआन्दोलन २०६२–६३ चैतमै शुरु भएको थियो, अहिले राजावादी यसकै रिहर्सल गरिरहेका छन् । सडकमा परेड खेलिरहेका छन् । उनीहरु नहुँदो बोलिरहेका छन् । देशलाई खराब बनाए, राम्रो बनाउन राजा चाहिन्छ भनिरहेका छन् । देशको खराबी के हो ? देश कहाँ खराब भएको हो ? सिंगो संसार कोभिड र डेंगुसँगै २०२५ लागेयता आगजनीबाट परेशान छ । सन २०२४ मा अष्टे«लियाले यही भोग्यो, अंग्रेजी नयाँ वर्षलगत्तै अमेरिकाले त्यही भोग्यो, हामीले पनि फागुनमै काभ्रेका जंगलमा हेलिकोप्टरबाट पानी खन्याएर आगजनी नियन्त्रणको प्रयास गरेका थियौँ । सुनसरीको इटहरीमा ठूलो बजार भएको घरमा त्यही घटना भयो । सेनाको हेलिकोप्टरले पानी खन्याउनु परेको थियो । फसेकाको उद्धार गर्नु परेको थियो । असोज १२–१३ गते देशभर ठूलो बाढी र विपत्ति जान्छ भन्ने हामीलाई पूर्व ज्ञान थियो, पञ्चायतकालमा यस्ता कुरा कोरा कल्पना हुन्थे, रेडियो नेपालले आज पानी पर्छ भनेपछि छाता बोकेर हिँड्दा दिउँसो चर्को घाममा छाता काम आउँथ्यो । विपत्तिसँग अमेरिकाले सकेन, चीनले सकेन, भारतले सकेको छैन, रुसले सकेन, नेपालले सकेन भनेर नेताको सत्तोसराप गर्ने बेला भएको छैन सायद । जति हाम्रा प्रविधि विकास भएका छन्, उपलब्ध स्रोतसाधन छन्, ती पक्कै पञ्चायतमा किन भएन भनेर प्रश्न सोधेर राजावादीलाई झर्कोफर्को गर्नु पनि छैन ।
२०६२–६३ मा पनि नेता झण्डै ‘बेबिकिङ’मा मानिसकेका थिए । २०६३ वैशाख ८ गते आन्दोलनको उभार थेग्न नसकेर राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतामा फर्काउँछु’ भनिसकेका थिए । दलहरुलाई भने यो नै ‘महान उपलब्धी’ भन्ने परिसकेको थियो । जस्तो अघिल्लो वर्ष बंगलादेशमा कोटा प्रणालीलाई अदालतले खारेज गरे पनि विद्यार्थीले आन्दोलन कायम राखे, नातामा सेना प्रमुख भए पनि बंगलादेश सरकारलाई सेना र प्रहरीले जोगाउन सकेन, देश छाडेर भाग्ने मौका दिएको थियो । यहाँ पनि वैशाख ८ गते राजा नासो फर्काउन तयार भएपछि हौसिएका दलहरुलाई युवा विद्यार्थीले खबरदारी गरे । अन्ततः बेबिकिङबाट देश सिधै गणतन्त्रात्मक व्यवस्थाको आधारभूमिमा प्रवेश गरेको थियो । जंगलबाट आएको माओवादी र सडकमा रहेको सात दलले गणतन्त्रको भूमि तयार पारेका थिए । यसैले कहिलेकहीँ आन्दोलनको सीमा बढी नै हुन्छ । नेपालमा अहिले एकाथरिलाई हिन्दू राज्य भए पुगेको छ, अर्काथरिलाई राजतन्त्र चाहिएको छ । तर त्यसको आधारभूमि उनीहरुले कहिले नवराज भण्डारी त कहिले दुर्गा प्रसाईंलाई बनाएका छन् । यसैले राजावादीको अशली कपिराइट बोकेर हिँडेका कमल थापा र राजेन्द्र लिङ्देनको लडाइँ त छदैँछ, त्यसमा रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाही पनि थपिएका छन् । दीपकबहादुर सिंह र धवलशमशेर राणाको लाइन पनि छ । पशुपति शमशेर राणाजस्ता गणतन्त्रको तिहुनचखुवा र डा. प्रकाशचन्द्र लोहनीजस्ता अगुवालाई पनि राजतन्त्रको मियो कता हो, गोरु कता घुमिरहेको भेउ छैन, राजतन्त्रको दाइँमा दुर्गा प्रसाईंका कार्यकर्ताको फुक्काफाल दौडले अरुलाई पनि झस्काइरहेको छ ।
ज्ञानेन्द्र शाहलाई नै सोध्नुपर्छ कि, यो आन्दोलन तपाईंको रुचि हो कि तमासा ? तपाईंले २०६२–६३ मा फर्काएको ‘जनताको नासो’ फेरि ग्रहण गर्ने ‘मनसुवा’ कहाँबाट जाग्यो ? जनताका छोराछोरी राष्ट्रपति भएको, जनताको भोटले वडाध्यक्षदेखि मुख्यमन्त्री भएको, खस आर्य या महिला या मधेशी समावेशी नेतृत्व भएको तपाईंलाई किन मन परेन ? बिहान ७ बजेको रेडियो नेपालको समाचार सुन्दा प्रत्यक्ष निर्वाचनको नतिजामा हारेका तपाईंका ‘भक्त र हनुमान’लाई साँझ ७ बजेको रेडियो नेपालको समाचारमा फेरि ‘राष्ट्रिय पञ्चायतमा मनोनीत’ गरेर भएको जनमतको अपमान तपाईंको सुकर्म र दलहरुको कुकर्म कसरी सावित भयो ? हामीले अस्तु सेलाएको पञ्चायतका कुकर्म नखोतलौँ भनेर मौन बस्दा फेरि तपाईंले के भनेर दिनु भएको नासो लिने मन भयो र जनताका छोराछोरीलाई मर्न र मार्न तयार पार्दै हुनुहुन्छ ? स्वयम् गिरिजाप्रसाद कोइरालाले भन्नु भएको थियो, ‘यो आन्दोलन नै अन्तिम हो, अब कुनै पुस्ताले फेरि व्यवस्थाका लागि लड्न पर्दैन ।’
उहाँले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’ त उहाँको महाप्रस्थानसँगै सकियो, कतै कोइरालाले भन्ने गरेको ग्रान्ड डिजाइनको कपी, तमसुक तपाईंसँग पो छ कि ? त्यसमा केही वर्षपछि तपाईंलाई दलहरुले नारायहिटी फर्काउँछु भनेर हस्ताक्षर पो गरेका थिए कि ? छ भने त्यो कपी ल्याउनुहोस्, दलहरुले बदमासी गरे भनेर हामी नै यो कर्ममा लागौँला । नत्र बैंकबाट ऋण लिएर किस्ता नतिर्नेहरुले मच्चाएको आन्दोलनमा तपाईं किन अतिथि देखिनु हुन्छ ? कसैको व्यक्तिगत हुर्मत लिने, अपमान गर्ने, मुद्दै लाग्ने शब्द बोलेर जस्केलामा तपाईंलाई देखाउँदा, तपाईंको मन पोल्नुपर्छ, किनभने केही वर्षपछि तपाईंले पनि केही गर्न सक्नु भएन भने तपाईंलाई फेरि यिनै यसरी नै दुत्कार्ने छन् । तपाईंलाई भ्रममा पारिएको छ कि चैत १६ गते ६ वटा ग्रह एक ठाउँमा आउने भनेको तपाईंलाई नारायणहिटीमा फिर्ता गर्न आउन लागेका होइनन् । ती सौर्यमण्डलका सदस्य दुर्गा प्रसाईंजस्ता नेपालका राजतन्त्र पक्षधर ग्रह पनि होइनन् । यिनलाई नेपालमा राजा ल्याउनु परेको भएर एकठाउँमा आउन लागेको त झन कसले पत्याउने ? आफ्नै स्याटेलाइट स्पेस नभएको आकाशका ग्रह नेपालका होइनन् पनि । यति कुरा पनि नबुझेर किन जनता आक्रोशको मसाल दन्काइरहेका छन् । पक्का हो, विपत्ति आउनेछ, हामी सन्तुलित भएर बस्नु पर्नेछ, बाँच्नु पर्नेछ, ज्यान जोगाउनु पर्ने । राजा ल्याउने काम चुनावमा मतको, आन्दोलनमा व्यवस्थाको हो, सौर्यमण्डलको होइन ।
केही दिनअघि एउटा प्रकाण्ड विद्वानसँग भेटेको थिएँ । यसअघि बहुमतको सरकार ढल्छ, प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल बाहिरिन्छन्् भन्न उनी टेलिभिजनमा आएका थिए । यसपटक उनी फेरि त्यही भन्न आए । बहुमतको सरकार भए पनि केपी शर्मा ओलीको सत्ताबाट बहिर्गमन हुन्छ भन्ने उनको तर्क थियो । ‘यसपछि देशमा के हुन्छ ?’ उनको तर्क थियो, ‘सायद अब राजा फेरि आउँछन्, ग्रहहरुको संकेत त्यस्तै छ ।’ यी ग्रह नेपालका हुन् ? राजा आएपछि यो सब ठीक हुन्छ ? हाम्रो इन्टरनेशनल एयरपोर्ट बन्द हुन्छ ? गाउँमा मान्छे धमाधम धनी हुने छन् ? राजमार्गमा कालो पिच र माओवादी नेता राम कार्कीले भनेजस्तो ‘अफ्रिकी सुन्दरीको गाला’ झैँ चिल्ला हुनेछन् ? राजा ल्याउनै धेरै वर्षपछि ग्रहहरु एकाकार भएका हुन् ? उनले माइकबाहिर चियाको वाफ उडाउँदै भने, ‘केही वर्षपछि फेरि तपाईंहरुले आन्दोलन गर्ने ।’ अर्थात् अहिले जनता राजाका पक्षमा गए पनि नेपालको दीर्घकालीन समाधान छैन । ग्रहहरु राजा ल्याएर फर्कन्छन् जसरी स्वस्थानीमा डोलाहरु फर्कन्छन् । त्यसपछि फेरि देशमा त्यही हुनेछ, जसले अहिले राजा फर्काउन खोजिरहेको छ । हाम्रो पशुपतिनाथ मन्दिर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, केही भूमि, केही नदी अहिलेका दलहरु भन्दा चरम संकटमा हुनेछन् । तिनको कमाण्ड कतै हामीसँग पो हुँदैन कि ? तिनको अस्तित्व जोगाउन राजाले पनि सक्दैनन् कि ? किनभने त्यतिखेर ग्रहहरुले राजालाई साथ दिने अवस्था छैन । इतिहासमै कमजोर राजाको पुनःस्थापनाको मुद्दामा देश रुमल्लिइरहेको छ । यसको न ठूलो आधार छ, न वैज्ञानिक स्रोतसाधन छ । यसैले हामी राष्ट्रियता कमजोर पार्न दलहरुले भन्दा पनि निकम्मा काम गरिरहेका छौँ कि छैनौँ ? एक न एक दिन ज्ञानेन्द्र शाहले भन्नु पर्नेछ, जसरी अहिले हामी दलहरुको अकर्मण्यताको सिकार भएका छौँ, त्यसरी नै शाहजस्तै हामी सबै फेरि भविष्यमा पछुताउने दिन टाढा छैन । उचाल्नेहरुले उचाल्छन्, जसरी मोहन वैद्यलाई उचालेर प्रचण्डको पार्टी फुटाउन लगाए, प्रचण्डको शक्ति कमजोर भएन, माधव नेपाललाई उचालेर पार्टी फुटाउन लगाए, केपी शर्मा ओली एमालेमा अरु बलियो भए । शेरबहादुर देउवालाई पार्टी फुटाउन लगाए, गिरिजाप्रसाद कोइरालासँग लडेका देउवा सुशील कोइराला र रामचन्द्र पौडेलसँग त जुध्न पर्यो नै शेखर कोइरालासँग पनि लडे, हुँदाहुँदा गगन थापा पनि कांग्रेस सभापतिमा तयार हुँदैछन् । यसैले कसैले उचालेका भरमा कोही पनि उचालिनु हुन्न भन्ने इतिहास बिर्सनु हुन्न ।
सबै नेताहरुको व्यवस्थापन सम्भव पनि हुँदैन । पार्टीका नेताहरुको व्यवस्थापन नहुँदा बढेको द्वन्द्वको घाउ व्यवस्थापन नै हो । व्यवस्था परिवर्तन होइन । जनताले निकै रगत बगाएर ल्याएको व्यवस्था सहजै बंगलादेशमा जस्तै परिवर्तन गर्न सकिन्छ । त्यसपछिको व्यवस्थापन के हो ? दुर्गा प्रसाईंहरुले भन्ने गरेको मारवाडीहरु खराब हुन् भने तिनको पहुँचमा रहेको बैंक तथा वित्तीय संस्थाको विकल्पमा अर्को वित्तीय संसार स्थापना हुन्छ ? हिजो ४ हजार गाविस अध्यक्ष थिए, तिनीहरुकै हाराहारीमा उपाध्यक्ष थिए, तिनीहरुको व्यवस्थापनमा ८ सयको हाराहारीमा प्रदेश सभा सदस्य र ९० जति मन्त्री बनाइएको हो । अब फेरि ४ हजार गाविस अध्यक्ष बनाइयो भने ती हिजोजस्तो झोला बोकेर गाउँ हिँड्छन् कि अहिलेका गाउँका सिहंदरबारका सिंहजस्तै गाडीमै हिँड्छन् । मुलुकमा ४ हजार गाविस अध्यक्ष, ४ हजार गाविस उपाध्यक्ष र ४ हजार गाविस सचिवले चढ्ने १२ हजार गाडी राज्यसँग छ ? यत्रो गाडी चल्ने बाटो छ ? अनि यो गाडी कहाँबाट आउँछ, कसको व्यापार हुन्छ ? जसले नेपालको राजनीतिमा चासो राखिरहेको छ, उसले एकसाथ धर्म, व्यापार र पानीमा पो हामीलाई झुकाउँदैछ कि ? यी सबै प्रश्नको जवाफ दिँदै नेपाली जनताले थाहा नपाएको कुनै सम्झौता छ भने ल्याउनुहोस्, अब बोल्नुहोस् । होइन भने अराजकताबाट अव्यवस्था अन्त्य हुँदैन, बरु भएको व्यवस्था, स्वामित्व, हैसियत र सम्पदा तथा सभ्यता सिध्दिने भएकाले एकपटक सबैले ठण्डासँग सोचौँ । देश यो भन्दा अरु द्वन्द्वमा जान सक्दैन । विकल्परहित जो कोहीलाई अब व्यवस्थापक बनाउने कुरै नगरौँ ।