Sun. Mar 30th, 2025

धादिङमा आयोजित रैथाने खाना महोत्सव उद्घाटनकै दिन छैन स्टलमा रैथाने परिकार !

धादिङ-धादिङको गजुरी गाउँपालिका-५ गलौदीमा आयोजित तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार मेला पहिलो दिन नै झुर बनेको छ ।

उद्घाटन पुर्व हुने झाँकी र्‍यालीको रौनक त थिएन नै उद्घाटन कार्यक्रमको मन्चमा चमक देखिएन । न उद्घोषकले बोलाईरहेका अतिथिहरुको अनुहारमा हर्ष न आयोजकको अनुहारमा चमक। उद्घाटनकै बेला महोत्सव स्थल पुगेका दर्शक, महोत्सव प्रवेशद्वार देखि मन्च अगाडिसम्मको स्टल र आसपासको चहलपहल देख्दा लाग्थ्यो- ‘कुनै समुहको भेला भैरहेको छ ।’

उद्घाटन समारोहमा आउने अतिथिलाई विभिन्न जातजाति र ठाउँ विशेषका रैथाने खाना चखाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएपनि त्यस्ता खानेकुराको कुनै परिकार छैनन् । कृषि उत्पादन र घरेलु उत्पादनका सामाग्री त देख्नै पाइदैन ।

करिब एक सय भन्दा बढी स्टल राख्ने तयारी देखिएपनि ठेकेदारले थापेका केही होटल र विदेशी कपडा र भाडाकुडाका गरि जम्माजम्मी २० वटा स्टल छन् । माछाले प्रख्यात मलेखुकै माछाका परिकार पनि महोत्सव स्टलमा छैनन् ।

त्रिशुली किनार र पृथ्वी राजमार्गको छेवैमा पर्ने गलौदीमा विहीबारदेखि महोत्सव सुरु भएको हो । बागमती प्रदेश सरकारका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलले महोत्सव उद्घाटन गरेका हुन् ।

चेपाङको गिठ्ठा भ्याकुर, झार्लाङको आलु, लापा र तिप्लिङको कोदाको ढिडो, सल्यानटारको मास, थाक्रेको उखु लगायतका उत्पादनले धादिङ प्रसिद्ध छ । तर, महोत्सवको त्यस्तै कुनै परिकार नपाएपछि उद्घाटन समारोहमा पुग्ने अतिथि र दर्शकले समेत महोत्सवको खिल्ली उडाएका छन् ।

जिल्ला होटल संघ धादिङले आयोजना गरेको महोत्सवको गजुरी गाउँपालिका संरक्षक रहेको छ । परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि, घरेलु, हस्तकला तथा पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । उद्घाटनकै दिन पनि महोत्सवमा रहेका ८० प्रतिशत स्टलहरु खाली रहेका छन् ।

आयोजकले महोत्सवलाई व्यापार मात्रै बनाउदा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव नाममा मात्रै सिमित बनेको हो ।

About The Author

अन्य समाचारहरु: