
काठमाण्डौ – ३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको छ ।
हिजो बेलुका भएको खेलमा जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो । नेपालले सिंगापुरको नेसनल स्टेडियममा ऐतिहासिक सफलता प्राप्त गरेको हो । कार्कीले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरलाई हराएको यो पनि पहिलो पटक हो ।
यस्तै नेपालले सिंगापुरलाई गोल गरेको पनि यो नै पहिलो पटक हो । यसअघि तीन खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने एउटा बराबरी भएको थियो ।
अब नेपालले एशिया कप छनोट तेस्रो चरण खेल्नेछ । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ तारिखदेखि शुरू हुँदैछ ।