Mon. Mar 17th, 2025

वंशगत शासनको वहस हास्यास्पद र निरर्थक भएको एमालेको निष्कर्ष

काठमाडौं । राजावादीहरू सक्रिय भइरहेका बेला प्रमुख सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ । आज (सोमबार) पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैंमा हास्यास्पद, हानिकारक र निरर्थक भएको बताएका छन् । जनताको फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने उनले बताए छ ।

यस्तो छ एमाले विशेष प्रस्ताव

केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ७ दशक लामो बलिदानी संघर्षको परिणति हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरीत राजतन्त्र पटक–पटक जनताका अधिकारहरूमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो ।

जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ। लोकतन्त्र स्थापनपछि छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । सशस्त्र द्वन्द्व, लामो संक्रमणकाल, भूकम्पलगायत अनेकौँ प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवन स्तर, अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्र लगायतमा नेपालले हासिल गरेका उपलब्धि महत्वपूर्ण छन् ।

About The Author

अन्य समाचारहरु: