Wed. Mar 5th, 2025

तलब माग गर्दै कर्मचारीद्वारा धादिङ उद्योग वाणिज्य संघमा ताल्चा

धादिङ – बक्यौदा रहेको तलब माग गर्दै धादिङ उद्योग वाणिज्य संघमा कर्मचारीहरुले ताल्चा लगाएका छन् ।

एक वर्षदेखि नियमित पारिश्रमिक नपाएको भन्दै कर्मचारीहरुले कार्यालयको गेटमा सूचना टाँस गरि ताल्चा लगाएका हुन् ।

गेटमा टाँसिएको सूचनामा भनिएको छ-‘कर्मचारीहरुले मासिक रुपमा पाउनुपर्ने तलब विगत एक वर्षदेखि नपाएको हुँदा सम्पुर्ण कर्मचारीको तलबको सुनिश्चितता नभएसम्म कार्यालयमा उपस्थित नहुनुका साथै नलाएको ताल्चा पनि नखुलिने कुरा जानकारी गराउदछौं ।’

निवर्तमान कार्यसमितिले कर्मचारीहरुलाई दिनुपर्ने तलब अडिट रिपोर्टमा उल्लेख नगरेको र नवनिर्वाचित कार्यसमितिले पनि वेवास्था गरि आलटाल गरिरहेकोले बाध्य भएर दबाव दिनका लागि ताल्चा लगाइएको कर्मचारीहरुले प्रतिक्रिया दिएका छन् ।

भत्ता तथा पेश्की स्वरुप केही रकम दिएपनि पारिश्रमिक नदिएको र तलब माग गर्दा नयाँ निर्वाचित कार्यसमितिले पुरानो तलब दिन नसक्ने भनेपछि कामकाज ठप्प पारिएको पनि कर्मचारीहरुले बताएका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले भने कार्यालय खुल्लै रहेको र कर्मचारीको विषयमा कुनै समस्या नरहेको बताए ।

व्यवसायीहरुको हिसाबकिताब पारदर्शी बनाउन सहजीकरण गर्ने उद्योग वाणिज्य संघले आफ्नै कर्मचारीको हिसाब गोलमाल गराएर भद्रगोल अवस्था सिर्जना गर्छ भने व्यवसायीहरुले संघबाट के आशा गर्ने ? धादिङ उद्योग वाणिज्य संघप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

About The Author

अन्य समाचारहरु: