Sat. Mar 1st, 2025

एमवाईसीले जित्यो प्रथम सुमन स्मृति कपको उपाधि

धादिङको सदरमुकाम धादिङबेसीमा आयोजित प्रथम सुमन स्मृति कपको उपाधि लिँदै मित्र युवा क्लव (एम.वाई.सी)का खेलाडीहरु । तस्बिर : शंकर श्रेष्ठ

धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एम.वाई.सी)ले जितेको छ ।

धादिङ फुटबल क्लव (डि.एफ.सी.)लाई २–० गोलले पराजित गर्दै एम.वाई.सी.ले उपाधि जितेको हो । शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको थियो ।

शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल एम.वाई.सी.ले दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित ग¥यो । सेमिफाइनल जितेर फाइनल प्रबेश गरेसंँगै डि.एफ.सी. र एम.वाई.सी.बीचको फाइनल भीडन्त रोचक हुने आँकलन गरेका अधिकांश दर्शक एम.वाई.सी.को सपोर्टमा देखिए । खेल सुरु हुनेबेलामा हल्का वर्षा भयो । दुुबै क्लवका खेलाडी मैदान चिप्लो भएका कारण अल्मलिएका थिए । त्यतिनै बेला एम.वांई.सी.का खेलाडीले गोल हान्ने मौका पाए । तर, डि.एफ.सी.ले लय समाउन सकेन ।

उपाधि विजेता एम.वाई.सी. क्लवका खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उपविजेता डि.एफ.सी.लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक एम.वाई.सी.का सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी एम.वाई.सी.का अनिल राना मगर, उत्कृष्ट गोल किप्पर एम.वाई.सी.का सफल खत्री, उच्च गोलकर्ता शिवदल गढका सरोज श्रेष्ठ र उदयमान खेलाडी डि.एफ.सी.का समिर गु्रुङलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेतालाई प्रदान गरिएको पुरस्कार राशी धादिङ जिल्लामा आयोजित खेलकुद प्रतियोगिता मध्ये सबैभन्दा ठूलो धनराशीको रहेको आयोजक क्लव डि.एफ.सी.का अध्यक्ष गोपीकृष्ण भण्डारीले दावी गरे ।

धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: