Fri. Feb 28th, 2025

लेखेरै खानेलाई लेखेरै दुःख

–रामकुमार एलन

अचेल नलेख्ने पत्रकारिता फस्टाएको छ । हामी चैँ लेखेर स्थापित भएका हौँ । आफ्नै पार्टीभित्र, संस्थाभित्र, परिवारभित्र, नातागोताभित्र अनि गाउँटोल, क्षेत्र, जिल्ला, प्रदेश हुँदै देशमै अझ फेसबुक र टिकटक आएपछि विदेशमा पनि चार–पाँच दर्जन शत्रु कमाउन सफल भइएको लेखेर नै हो । नलेखेको भए शत्रु किन बढ्थे रे ? सामाजिक सञ्जालमा किन गाली खाइन्थ्यो र ? मतदाता त कति छन्–छन् । शुभचिन्तक पनि कम छैनन् । नेता कार्यकर्ताको त ओइरो नै छ नि । तर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षपोषण गरेकामा सबैभन्दा बढी गाली विष्णु रिमालले खाने गर्छन् । त्यसपछि अरु क्रमशः छन् । विष्णु रिजाल पनि पर्छन् । फेसबुकमा समिक बडाल पनि पर्छन् । उसो त पार्टी महासचिव शंकर पोखरेललाई पनि उस्तै गाली गर्नेहरु छन् । पार्टीमा नेता कार्यकर्ता त टन्नै छन्, तर परेका बेला झ्याप्प साथ र समर्थन जसले पहिला गर्छन्, उसैले गाली खाने हो । यो कुनै नौलो पनि होइन । यो पञ्चालयतका पालादेखि अहिलेसम्म कायम छ । फरक यति हो, त्यतिखेर बाटो ढुक्थे, अहिले सामाजिक सञ्जालमा आफ्नो प्रोफाइल लक गरेर कुकुर, ब्वाँसो, बाउआमा, छोराछोरी, घण्टी, लौरोको फोटो राखेर कुर्लन्छन् । भुक्छन् नै भन्न उनीहरुजस्तै तलै उत्रिन पनि भएन ।

गालीको शृंखला अहिले मृत्युको कामनामा पुगेको छ । भारतमा पनि यस्तो फस्टाएको देखिन्छ । युट्युब र टिकटकमा बेलाबेला नाम चलेका नेता, कलाकार मरेको भनेर श्रद्धाञ्जलीका भिडियो आइरहेका हुन्छन् जबकि भारतीय मूलधारका मिडियामा यस्तो सामग्री नदेखिएपछि यस्ता बकम्फुसेले समय मात्र बर्बाद पारेको भनेर हामी आफैँ त्यस्ता सामग्री हेदैनौँ । तर नेपालमा चैँ २०६४ को परिवर्तनपछि फस्टाएको सामाजिक सञ्जालको प्रयोगमा नेता कार्यकर्ताहरुको जोडबल र सक्रियताले सबैभन्दा बढी राजनीति यति धेरै विकृत बनाएको छ कि, तपाईंलाई कोही मन परेन भने सिधै शंख बजाएर भिडियो बनाइदिए भयो, मरेको भनेर श्रद्धाञ्जली हालिदिए भयो । तब न तपाईंलाई नेताहरुले जेलनेल भोगेर ल्याएको गणतन्त्रमा यति छाडा हुन पाइएकामा कुनै गर्व छैन फेरि, यो व्यवस्था खराब भनेर तपाईं हामी फेरि बाँचेकालाई पनि सराप्नु हुन्छ । अनि साँझ परेपछि छिमेकी भाउजुलाई ‘प्राइभेट पार्ट पठाइस्यो न’ पनि भन्नु हुन्छ र फलानोको फेसबुक ह्याक गर्न पनि खोज्नु हुन्छ । कसैलाई सिधै मृत्युको कामना गर्दै श्रद्धाञ्जली दिनु हुन्छ । तपाईं नै फेरि भन्नुहुन्छ, ‘सरकारले बोल्नै नदिने गरी अनेक विधेयक ल्यायो, यो पारित हुनुहुन्न ।’

प्रजातन्त्रका पनि आफ्नै दुःख छन् । जसले यो व्यवस्था ल्याउन लडे, तिनीहरु पाखा पारिएका छन् । पञ्चायतमा, प्रजातन्त्रमा, लोकतन्त्रमा र गणतन्त्रमा पनि । अहिले गणतन्त्रकालका घडीहरु चलिरहेका छन् । साँच्चै यो परिवर्तनका लागि उत्सर्ग गर्नेहरु गुमनाम छन् । तिनका परिवार मागेर खाने भएका छन्, अलि सक्नेहरु देश छाडेर पलयान भएका भएका छन् । गाउँबाट शहर आएर गुमनाम भएका छन् । यो क्रम राणाकालदेखि नै थियो । सत्ताको रोग नै भाइभारदार लखेट्ने, मार्ने क्रमबाटै शुरु हुने भएकाले राणाकालका हाम्रा इतिहास कतै गौरव गर्न लायकका छैनन् । पञ्चायतकालीन भूतले अहिले पनि बेलाबेला बौरिन खोजेको हो कि हो कि जस्तो गर्छ । आज नेपाली जनता विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएका छन् । बुद्धिले, विवेकले, क्षमताले, योग्यताले संसारसँग स्पर्धा गरिरहेका छन् । तर हाम्रा पुरातनवादी सोच भएका शासकहरुलाई प्रजातन्त्रले नेपाली बिगारेको भनिरहेका छन् । पञ्चायत ठीक भनिरहेका छन् । जबकि माओवादीले लखेटेको भनेर नक्कली शरणार्थी र पीडित बनेर दुई दशक बढी देश बाहिर बसेर धनी बनेका उनीहरुलाई ती देशमा घुम्न आउने नेपालीलाई पनि कालो झण्डा देखाएर नेपाली हुनुको परिचय दिनु परेको छ ।

राम्रा गर्नेहरु नेपालमा पनि कमाइरहेका छन् । इन्टरनेटका माध्यमबाट आफ्ना योग्यता, क्षमता हुनेहरु राम्रै कमाइ गरिरहेका छन् । नेपाल बाहिर पनि उनीहरुले राम्रै काम गरेका छन्, कमाएका छन् । बेफुर्सदीहरु हो सामाजिक सञ्जालमा गगन थापालाई कीर्तिपुरको डाँडाको भद्दा मजाक गरिरहेका छन् । अरुले बनाइदेको कन्टेन्टमा यसो थुतुनो हल्लाएर भाइरल हुने रोगले समाज ग्रसित छ । राम्रो गर्नेहरुले राम्रै गरेका छन्, तिनीहरु सामाजिक सञ्जालमा नांगिदैँ पनि आउँदैनन् र आएर अरुले भनेपछि नांगिन पनि तयार छैनन् । परिवार र देशको चिन्तनमा बेलाबेला मात्रै घोत्लिने उनीहरुको फुर्सद हुन्छ । विदेशमा पनि दलाली गर्ने, सत्ताको चाकडी गर्ने र काम नगरी चाँडै धनी बन्नेहरुले देशको विदेशमा पनि हुर्मत लिइरहेका छन् । यिनैलाई नेपालमा पनि नागरिकता चाहिएको छ । मताधिकार चाहिएको छ । नेपाली राजनीतिको चिन्ता छ । यति मात्र होइन, देश छाडेर गैरनागरिक भएर बसेका छन् अनि तिनैले भनिरहेका छन्, नेपालको सत्ता फेर्न अब जनता जाग्नु पर्छ । अहिले देशमै बस्नु मात्रै पनि राष्ट्रवाद हो । टोलछिमेकमा कोही बिरामी पर्दा बजारबाट हर्लिक्स र सिटामोल ल्याइदिने, अस्पताल पुर्याइदिने नै अशली नेपाली हुन् भन्ने अवस्था छ । संसारमा नेपालीले गरेको प्रगति र गौरव यिनै राजनीतिक छिर्कनाहरुले बदनाम गराएका छन् । नत्र गरिखाने संसारका सबै नेपालीलाई यस्तो फोहोरी खेलमा प्रवेश गर्ने फुर्सद पनि छैन र इमानदारको अभावले संसारभरको राजनीतिमा फोहोरीहरुको रजगज चलेको छ । त्यसमा पछिल्लो छिमलका फुल्न नभ्याएका सिमलहरुले बजार धमिल्याएको मात्र हो ।

व्यवस्था बदल्न लेख्नेहरुलाई लखेट्ने रोगीहरुको बजार ठूलो छ । उनीहरु पनि लेखिरहेका छन् । कोही सामाजिक सञ्जालमा, कोही कतै, कोही कतै लेखेर आफ्नो कुण्ठा व्यक्त गरिरहेका छन् र उनीहरु नै भनिरहेका छन् कि हामीले लेखेको ठीक हो, अरु सबै झुट हो । उनीहरुको लेख्ने क्रम अरु झुट, स्वार्थको पुलिन्दा बनिरहेको छ । जस्तो अहिले भाष्य बनाइएको छ कि लेखिएका विषयहरु गलत थिए, त्यसलाई खण्डन गर्दैै हामी लेख्ने छौँ नयाँ विषय । यो विषय नै आधिकारिक । यसो भन्नेहरुको लेखकीय हैसियत सामाजिक सञ्जालबाट बनेको छ । जसको जनलेखा परीक्षण हुन बाँकी नै छ । उनीहरु लेख्ने नाममा लेखकहरुको दलाली गरिरहेका छन् । बजारमा दलाली मनोवृत्तिलाई संरक्षण गरिरहेका छन् । अहिले लेखकहरुलाई यस्तै दलाल बजारका मूलीहरुबाट झन खतरा हुन थालेको छ । सामाजिक सञ्जालमा अरुलाई खिस्याउनेहरु पो अब्बल र सक्कली दरिने मौसम जो चलिरहेको छ । र, अस्थायी हो भनेर लेख्नेहरुले लेखेरै फेरि पनि यस्ता बजारु दलाली विस्थापित गर्नु नै छ ।

पछिल्लो समय लेख्नेहरुको अभाव हुँदै गएको छ । हालै विदेशी दाताको हण्डी खाने लेखकहरु भनेर नेपालका केही लेखक, स्रष्टाबारे कन्टेन्ट भाइरल बनाउने काम भयो । त्यसमा महले समेत प्रतिक्रिया दिएको देखेको थिएँ । कुनै कालखण्डमा केही लेखिनु अर्को कालखण्डमा असान्दर्भिक हुन जानसक्छ । जस्तो त्यतिखेर राजगद्दी त्यागेर शान्तिको खोजीका निस्केका सिद्धार्थ गौतमबारे माओवादी जनयुद्धकालमा कुनै माओवादी नेताले भनेका थिए, ‘यतिखेर बुद्ध नै भए पनि घरबाट निस्कँदा व्यवस्था फेर्न बन्दुक बोकेर निस्कन्थे होलान् ।’ हो, सबैलाई समय, कालअनुसारका साथ चाहिएको छ । यसैले पुराना लेखकहरुलाई अहिले हुर्मत लिने काम भइरहेको छ । पत्रकारिता, राजनीति, लेखनमा यस्तो भइरहेको छ । नयाँले पुरानालाई नचिन्ने र पुरानाले नयाँलाई ठाउँ नदिने रोग, कुण्ठाले पनि यस्तो हुन्छ । त्यसमाथि हामी वरपरको समाज र राजनीतिबाट पर छैनौँ । पत्रकारिता, लेखन, राजनीति, कलाकारिता यस्तो विधा बनेको छ कि, यो कहिल्यै अपडेट हुन नपर्ने वश एकले अर्कालाई चम्काउने, मस्काउने, सफा गर्ने या मोसो दलेका भरका जूनी पार भइरहने कारण पनि समस्या भएको हो । नयाँले पुरानाबाट सिक्ने र पुरानाले नयाँलाई साथ दिने बानी पार्न सकिएको छैन । मौका पाउने बित्तिकै एकले अर्कालाई सिध्याउन हामी सँगै बसिरहेका, एउटै कपमा चिया पिउनेहरु पनि होडबाजी गरिरहेका छौँ । साना दुःखले तपाईं हामी बिग्रेका छैनौँ । यसैले हामी कहिले सुध्रने भनेर सोच्ने फुर्सद पनि छैन भनेर एउटा टिकटक हेरेको थिएँ ।

जे होस्, समाज बनाउने र सकारात्मक बाटोमा हिँडाउने भन्दा दलाली बजार विस्तार गर्नेहरुको हालिमुहाली अहिले लेखन बजारमा पनि छिरेको छ । यहाँ लेख्ने भन्दा लेख्नेहरुलाई सकाउनेहरुको भिड देखिन्छ । लेख्नेहरुको हुर्मत लिने काममा ठूलै पंक्ति प्रयोग भइरहेको छ । तिनको भूमिका समाज बनाउने, लेखनक्षेत्र जोगाउने भन्दा धमिल्याउने र आफूलाई लाभको मिल्ने संकेत पाए कुनै पनि भूमिकामा उत्रन तयार देखिन्छ । समाज कस्तो बनाउने ? हामीले कल्पना गरेको समाज कस्तो हो ? यो समाजका लागि कस्तो लेख्नु पर्छ ? यस्ता विषयमा हाम्रा लेखकहरु पनि घोत्लिन छाडेर पटके फाइदाका सिकार भएका छन् । राजनीति यस्तो विषयमा सोच्ने पाठ्यक्रम नै च्यात्न तयार छ । समाज पनि भाइरल हुने कन्टेन्टको खोजीमा छ । अरुलाई खुइल्याएको सामग्री हेर्न उदत छ । यस्तो अवस्थामा व्यवस्था, प्रणाली, अभ्यास, सभ्यता, संस्कृति विस्तारै सिध्दिन थालेको छ । लेखकहरु पनि एकाआपसमा फुटेर नै स्वार्थ पूरा गर्न लागिरहँदा अहिले सबैभन्दा बढी दुःख लेख्नेहरुलाई परेको छ । अखबार लेखौँ, कोही पढ्दैन । अनलाइनमा लेखौँ, कोही हेर्दैन । सामाजिक सञ्जालमा लेखौँ, सरकारले कानून लगाएर थुनिदिने डर छ । यस्तो अवस्थामा साँच्चै लेखकीय शक्ति जोगाउने कसरी ? के हाम्रो लेखक विस्तारै घाटयात्रामा निस्केको हो ? किन लेख्नेहरु सबैतिरबाट दुःख पाइरहेका छन् । कसैलाई चित्त नबुझ्नेबित्तिकै श्रद्धाञ्जली आइलाग्ने यो कस्तो समाज निर्माण गयौँ हामीले ? समीक्षा गरौँ, समाज यस्तो हुनुमा हाम्रो दोष कति थियो, कसरी सुधाने ? फेरि पनि जुलुश गरेर हुँदैन, लेखेर नै समाज बदल्ने जिम्मेवारी पनि हामी लेखककै हो ।
००००

About The Author

अन्य समाचारहरु: