
काठमाडौं– पछिल्लो समय बलिउड गायक उदितनारायण झा एकपछि अर्को विवादमा तानिएका छन् । कन्सर्टको क्रममा युवती फ्यानलाई चुम्बन गरेपछि उनी केही साताअघि विवादमा मुछिए ।
उनी फेरि विवादमा तानिएका छन् । यसपटक भने, उनकी जेठी पत्नी रञ्जना झाले भरणपोषणको मुद्दा दायर गरेकी छन् । आफ्नो अधिकार हनन गरेको र सम्पत्ति हडपेको आरोप उनले लगाएकी छन् ।
यो मुद्दामा शुक्रबार उदितनारायण सुपौल फ्यामिली कोर्टमा उपस्थित भए । जहाँ उनले कुनै पनि सम्झौतामा सहमति गर्न अस्वीकार गरे ।
एनबीटीको खबरअनुसार, उदितले अदालतमा पूर्वपत्नी रन्जनाले अहिले पनि आफूबाट पैसा लिइरहेको आरोप लगाए । यसअघि रन्जनाले बिहार महिला आयोगमा पनि उजुरी दर्ता गराएकी थिइन् । दुबैजना यो मुद्दामा सम्झौता गर्न त्यहाँ पुगेका थिए ।
विवरणअनुसार, उदित रन्जनालाई प्रतिमहिना १५ हजार रुपैयाँ भरणपोषण खर्चबापत दिन्थे । सन् २०२१ मा यो रकमलाई बढाएर २१ हजार रुपैयाँ बनाइएको थियो । उदितले रन्जनालाई खेती गर्नको लागि एउटा खेत र एक घर दिएका थिए, जसको मूल्य १ करोड भारु भनिएको छ ।
बिहार महिला आयोगका अनुसार उदितले रन्जनालाई २५ लाख रुपैयाँको गहना र जमिन दिए । तर, रन्जनाले ती दुवै बेचिदिइन् । रन्जनाले आफ्नो वकिलमार्फत भनेकी छन् कि उनको बिग्रँदै गरेको स्वास्थ्यको कारण उनले बुढेसकालमा आफ्नो श्रीमान उदितनारायणसँगै बस्न चाहन्छिन् ।