
धादिङ-आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस,दिवसको अवसरमा धादिङबेसीमा मैत्रीपूर्ण पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भएको छ।
धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा धादिङ जिल्ला कबड्डी संघको व्यवस्थापनमा ७५ ओँ प्रजातन्त्र दिवसको अवसरमा आज नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाबीच मैत्रीपूर्ण पुरुष कबड्डी प्रतियोगिता भएको हो ।
प्रतियोगितामा नीलकण्ठ नगरपालिका बिजयी भएको छ । नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित कभर्डहलमा भएको खेलमा नीलकण्ठले सिद्धलेकलाई ५५–४० को स्कोरमा पराजित गरेको हो ।

विजयी भएको नीलकण्ठलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो भने उपबिजेता सिद्धलेकलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, नीलकण्ठ वडा नं १४ का वडाध्यक्ष नवराज दुवाडी, एमाले धादिङका उपाध्यक्ष अर्जुन श्रेष्ठ(गोर्खाली), जिल्ला युवा समितिका अध्यक्ष विनोद रिजाल, नेपाल रेडक्रस सोसाइटीका अध्यष दुर्लभ तामाङ,पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।