
धादिङबेसीमा आयोजना गरिएको 'बागमती साहित्यिक महोत्सव–२०८१' को तयारीबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बिमल ठकुरी, मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीलगायत आयोजकहरु । तस्बिर : शंकर श्रेष्ठ
धादिङ – धादिङको सदरमुकाम धादिङबेसीमा आयोजना गरिएको बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र पारिएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा कर्मचारी मिलन केन्द्र धादिङको व्यवस्थापनमा साहित्यिक महोत्सवको आयोजना गरिएको हो ।
बागमती प्रदेश स्तरिय साहित्यिक महोत्सवको लोगो र जिंगल सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बिमल ठकुरीले प्रदेशका १३ वटै जिल्लामा प्रचार प्रसारको काम सुरु भएको जानकारी दिए। बागमती प्रदेशभित्रको कला, साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानको परिकल्पना गरि अघि बढिरहेको बताए ।
“साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको वागमती साहित्य महोत्सव फागुन १६ र १७ गते सदरमुकाम धादिङबेसीमा संचालन हुनेछ । सिंगो प्रदेशको साहित्यिक श्रीवृद्धीमा उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको मन्त्रालयका सचिव सचिव दिपेन्द्र सुबेदीले बताए।
महोत्सवमा ११ प्यानल डिस्कसन, एक काब्य सन्ध्या, एक गजल सन्ध्या,एक सृजनात्मक सत्र गरि १४ सेसन हुने मूल समायोजन समितिका संयोजक एवं कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिए ।
धादिङबेसीको नीलकण्ठ वालमन्दिर मा।विमा हुने महोत्सवमा १६ गते पहिलो दिन उद्घाटन सत्र सँगै पाँच वटा प्यानल डिस्कसन र एक काब्य सन्ध्या र दोश्रो दिन छ वटा प्यानल डिस्कसन, एक गजल सन्ध्या, एक सृजनात्मक सत्र र समापन सत्र हुनेगरि कार्यक्रम तय गरिएको छ ।