
काठमाडौं– कुमा सागर ‘जेन जी’ पुस्ताले धेरै पछ्याउने नेपाली गायक । उनी सामान्य संगीतकर्मी मात्र रहेनन्, बरु सांगीतिक ‘फेनमेनन’ बनेका छन् । जहाँ जान्छन्, त्यहाँ दर्शकको ठूलै भीड लाग्छ ।
‘कुमा सागर एण्ड द ख्वपः ब्याण्ड’ अहिले धेरै सुनिनेमध्येको नेपाली ब्याण्ड हो । मार्च अन्त्यमा अस्ट्रेलियासहित वर्ल्ड टूर गर्नुअघि ब्याण्डले नेपालका विभिन्न थलोमा प्रस्तुति दिइरहेको छ । मेला महोत्सवसहित ब्याण्डलाई यतिबेला देशभित्रै प्रस्तुति दिन भ्याइनभ्याइ छ ।
यस्तोमा, शुक्रबार ललितपुरको पाटन दरबार स्क्वायरमा एउटा इतिहास लेखियो । सम्भवतः अहिलेसम्मको नेपाली कन्सर्टमा वृहत दर्शकीय उपस्थितीको माझ यो लोकप्रिय ब्याण्ड गुञ्जियो । दशौं हजार दर्शक ब्याण्डका एकपछि अर्को हिट ट्रयाकमा झुमे । ब्याण्डले आफ्ना हिट गीतहरू पस्किँदा सिंगो पाटन एकस्वरमा गुन्जियो ।
ब्याण्डको भव्य कन्सर्टपछि सामाजिक संजालमा दृश्य र तस्वीर भाइरल बनिरहेका छन् । निःशुल्क कन्सर्ट भएकाले पनि दर्शकको भीड निकै भएको हुनसक्ने अनुमान छ । भिडियो हेर्दा पाटन दरबार स्क्वायर मात्र होइन, वरपरका क्षेत्रमा पनि दर्शकको घुइँचो देखिन्छ । भीड अझै बढ्न सक्ने देखिएपछि भीडलाई अझै घटाइएको जनाइएको छ ।
नेवारी लय र धुनलाई मूलधारको नेपाली संगीतसँग जोडेर कुमा सागर एण्ड ख्वपः ब्याण्डले संगीत सिर्जना गर्दै आइरहेको छ । फुरफुरी, ए माई रे, ओ चम्पा, रुक्री मा, छहरे सरी, रारा तालैमा, चमेली फूल निकै हिट गीतहरू हुन् । युट्युव र स्पोटीफाईमा ब्याण्डलाई पछ्याउने र सुन्नेको संख्या उच्च छ ।
यो फ्युजन ब्याण्डले नेपाली परम्परागत वाद्ययन्त्रहरू खिन, धिमा, सारंगी, झ्याली र मादलसँग बास गिटार र एकोस्टिक गिटारजस्ता आधुनिक वाद्ययन्त्रहरूको संयोजनबाट संगीत सिर्जना गर्दै आइरहेको छ । बाजाहरूको यो मिश्रणले एक ताजा र अद्वितीय सांगीतिक अनुभव सिर्जना गर्दछ जसले नेपाल र अन्तर्राष्ट्रिय रूपमा दर्शकलाई मोहित गरेको छ ।
ब्याण्डमा अहिले कुमा सागर लिड भोकलिस्ट हुन् भने रोमन बज्राचार्य पर्कुसन, प्रवीण लखाजु नागरा, बीके प्रजापति इफेक्ट्स, सुमन गैडा गिटारिस्ट र भोकलिस्ट, अमन माली मुरली, रसिक जधारी सारंगी, रामसुन्दर धुसु साउन्ड इन्जिनियर छन् । ब्याण्डले मार्च २४ मा अस्ट्रेलियाको सिड्नी र अप्रिल ६ मा पर्थमा प्रस्तुति दिने तयारी छ । यसबाहेक, अर्को साता काठमाडौंमा हुने केपी ओली कपमा पनि ब्याण्डले प्रस्तुति दिने कार्यक्रम छ ।