Wed. Feb 26th, 2025

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै

काठमाण्डौ – पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिए।

पोखरा महानगर–९ नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रमा आज हुने समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा भ्रमण वर्ष घोषणा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो ।

भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । यस्तै, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन् ।

भ्रमण वर्षको अवधिभर पोखरा महानगरपालिकोतर्फबाट विभिन्न किसिमका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदूतको समेत सहभागिता रहने मेयर आचार्यले बताए ।

About The Author

अन्य समाचारहरु: