
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशिका जारी गरेसँगै सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने भएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी, पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१ स्वीकृत गरेसँगै नयाँ व्यवस्था लागु हुने भएको हो ।
यसअघि, सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने व्यवस्था थियो । तर, अब ०८२ भदौ १ गतेदेखि शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्नेछ ।
क्यान्सरको उपचारमात्र नभई रोकथामका उपायको खोजी गर्न चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।
शतप्रतिशत चेतावनीसहित छापिनुपर्ने निर्देशिकाले सुर्ती–चुरोटका प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने मन्त्रालयको अपेक्षा छ ।
अब कस्तो चित्र र सन्देश छापिन्छ ?
निर्देशिका अनुसार, घातक रंगीन चित्र तथा सन्देशमूलक चेतावनीहरू चुरोट, बिँडी , खैनी, सुर्ती र गुट्खामा छाप्नुपर्नेछ । यो व्यवस्था तिनका बट्टा, प्याकेट, र्यापर्स, पेटी, पार्सल र प्याकेजिङमा लागु हुनेछ ।
नयाँ निर्देशिकामा चुरोटको बट्टा, र्यापर्स, प्याकेटमा मुख्य अर्थात् अगाडिको भागमा घाँटीको क्यान्सर झल्काउने चित्र थप गरिएको छ । जसमा ८० प्रतिशत चित्र र बाँकी २० प्रतिशत भागमा ‘धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले घाँटीको क्यान्सर हुन्छ’ लेखिएको हुनुपर्छ ।