
काठमाडौं । संघीय संसदअन्तर्गत आज ६ वटा समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजै नै सुरू बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।
बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानहरुका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अपरान्ह १२ः ३० बजेवाट सुरू हुनेछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनेसम्बन्धमा अध्ययन प्रतिवेदन,२०८१ उपसमितिबाट समितिसमक्ष पेस गरिने छ र छलफल गर्ने कार्यसूची छ ।
त्यसैगरी बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।