काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।
शनिवार पार्टीको काठमाडौँमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध पनि गरे । उनले ओलीलाई दुई कम्युनिस्ट पार्टीहरू मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको आरोप समेत लगाए ।
प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको उनले उल्लेख गरे । ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी समेत उनले गरे ।
ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित उनको आरोप थियो । उनले नेपालमा दुई वटा ठुला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरू तयार रहेको बताए । संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई नेपालले चेतावनी दिए ।
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गरे । नेता वामदेव गौतम र डा। भीम रावललाई स्वागत गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।