![](https://www.pabilnews.com/wp-content/uploads/2025/02/rekha_thapa.jpg)
काठमाडौं– अभिनेत्री रेखा थापाले पर्दामा देखिनु मात्र ‘हिरोइज्म’ नहुने बताएकी छन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा आयोजित ‘हिजोका हिरो, आजका हिरो’ छलफल सत्रमा उनले यो बताइन् ।
‘पर्दामा देखिनु मात्र हिरोइज्म होइन । हिरोले समाजमा आशा लेखाउँछ । हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्यो भन्ने पनि हेरिनुपर्छ,’ उनले भनिन् । हिरो निश्चित समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनले बताइन् ।
उनले पुरुषप्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ चलचित्र निर्माण गर्ने हिम्मत जुटाएको बताएकी छन् ।
अहिलेको समय फिल्ममा व्यक्ति नभइ कथा हिरो भइरहेको बताएकी छन् । ‘पहिले लिड रोलमा काम गर्नेलाई मात्रै हिरो भनिन्थ्यो । अहिले परिभाषा बदलिएको छ । अहिले चरित्र हो, यो कथा हिरो भइरहेको समय हो । अब हिरो हिरोइन विस्थापित भएको जस्तो लाग्छ,’ उनले भनिन् ।
पछिल्लो समय समाजको हिरोलाई हेर्ने दृष्टिकोण फरक भएको उनले बताइन् । भूकम्पको समयमा आफू डराउँदा मानिसले हिरोलाई पनि डर लाग्छ र भनेर प्रश्न गर्दा यस्तो परिस्थितिमा पनि आफूहरूले जोगिएर संरक्षणात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् ।
थापाले पछिल्लो समयमा नेपाली फिल्म हेर्ने पुस्ता घट्दै गएको बताइन् । नेपाली फिल्मलाई माया गर्न समेत उनले आग्रह गरेकी छन् ।
अभिनेता नाजिर हुसेनले सामान्य मान्छेमा सहयोगी भाव भए समाजका लागि त्यो नै हिरो हुने बताए । ‘बाटो काट्दै गरेकी वृद्ध आमालाई बाटो काट्न सघाउने मानिस नै उहाँका लागि हिरो हो । त्यसैले कलाकारले पनि समाजिक क्षेत्रमा काम गर्नुपर्छ’ उनले भनिन् ।