Wed. Mar 12th, 2025

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

चितवन– भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश भएका छन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो । उनले भने, ‘सीमा क्षेत्रमा ३० प्रतिशत हाराहारी सेतो अण्डा देखिएको छ ।’ रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्वाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ ।

पोखरेलले किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बताए । यसअघि पनि बेलाबेलामा समस्या आउँदा गृह प्रशासनको ध्यानाकर्षण गराएपछि समस्या केही हदसम्म समाधान हुने गरेको उनको भनाइ छ ।

सङ्घका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा) अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठूला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको आगमनमा कमी, स्कुल, कलेजमा जाडो बिदा, बढी जाडो, स्वस्थानी व्रतलगायत कारण अण्डाको मूल्यमा गिरावट आएको अर्यालले बताए । क्रमशः बजार सुधार भएर मूल्य बढ्न थालेको भन्दै उहाँले सीमा क्षेत्रमा कडाइ गरिएमा अण्डाले लागत मूल्य पाउने बताए ।

अण्डा उत्पादन र बजारीकरण गर्दै आउनुभएका युवा व्यवसायी अमोद खनालका अनुसार नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलव ५६ पर्न आउँछ । लामो समय अण्डाले मूल्य नपाउँदा धेरै किसान विस्थापित भइसकेको उनले बताए । उनले भने, ‘सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ । जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्छ ।’

About The Author

अन्य समाचारहरु: