
काठमाडौँ — आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउने गरी कानुन संशोधन गर्न सरकारले विधेयक संसद्मा लगेको छ । नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकलाई गृह मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको हो । विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको छ ।
नेपाली आमाबाट विदेशमा जन्मिएर नेपालमा बसोबास गरेकालाई नागरिकता प्रदान गरिने व्यवस्था विधेयकमा छ । ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ,’ विधेयकमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली महिलाले बाध्यतात्मक परिवेशमा विदेशी नागरिकसँगको सम्पर्कबाट बच्चा जन्माउन पुगेका छन् । त्यस्ता बच्चाले बाबुको परिचय नखुलेकै कारण नेपालमा नागरिकता पाउन सकिरहेका छैनन् । गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख भरतमणि रिजालले बेपत्ता बनेका विदेशी बाबु तर नेपाली आमाका सन्तानले नागरिकता नपाइरहेको समस्यालाई सम्बोधन गर्न कानुनमा संशोधनको प्रस्ताव ल्याइएको बताए ।