Wed. Mar 12th, 2025

७० हजारले अवलोकन गरे धादिङ लोक सांस्कृतिक महोत्सव !

धादिङ । धादिङमा माघ १० गतेदेखि २३ गतेसम्म संचालन गरिएको लोक साँस्कृतिक महोत्सव ७० हजार दर्शकले अवलोकन गरेका छन् ।

मौलिक लोक संस्कृतिको प्रवर्द्धन गर्न धादिङमा पहिलो पटक आयोजना गरिएको लोक सांस्कृतिक महोत्सव टिकट काट्ने र नकाट्ने दुबै गरि ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले जानकारी दिए ।

धादिङको रैथाने मौलिक लोक संस्कृतिको प्रवर्द्धन, सांस्कृतिक पहिचानको प्रवर्द्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘टिकट काटेर हेर्ने र महोत्सवलाई हरेक तरवबाट सहयोग पुर्‍याउने तथा स्टल व्यवसायीहरु सबै गरेर ७० हजार भन्दा माथि दर्शकले अवलोकन गरेका छन्’, कोइरालाले भने– ‘विविध कारण र आवश्यकताको मध्यनजर गरेर २० गतेसम्म चल्ने भनिएको महोत्सव २२ गते समापन गरिएको हो ।’

कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवर्द्वन र आन्तरिक पर्यटन प्रवर्द्वन गर्न महोत्सवले सहयोग पुगेको र अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण बनेको लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताइन् ।

प्रतियोगितामा ज्वालामुखी गाउँपालिका प्रथम, गजुरी गाउँपालिका द्धितीय, नीलकण्ठ नगरपालिका र सिद्दलेक गाउँपालिका तृतिय भएका छन् । मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरुले महोत्सवको थप रौनक दिएको गैरेको भनाई छ ।

महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि ‘कलाकार कल्याणकारी कोष’ स्थापना पनि गैरेले जानकारी दिइन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको महोत्सव माघ १० देखि २० गतेसम्म सञ्चालन हुने भनिएपनि दुई दिन थप गरि २२ गते समापन गरिएको हो ।

About The Author

अन्य समाचारहरु: