
धादिङ । धादिङ जिल्लामा क्रियाशिल राजनीतिक दलका महिला नेताहरुले आफ्नै पार्टीमा अवसर पाउन कठिन रहेको बताएका छन् ।
नातावाद, धनवाद, डनवाद, गुट उपगुटका कारण महिला नेताहरुले आफ्नै पार्टीभित्र पनि अवसरबाट बन्चित हुनुपरेको अनुभव सुनाएका हुन् ।
‘राजनैतिक नेतृत्वमा महिलाहरुको पहुँच’ बिषयमा धादिङबेसीमा भएको अन्तरक्रियामा नेपाली काँग्रेसका नेता देवी पाण्डेले भनिन्- ‘नेपाली कांग्रेसमा मात्रै होइन सबै राजनीतिक पार्टीमा महिला पछाडि नै छन् । अवसर नपाएकै कारण पार्टीमा महिलाहरुको अर्थपूर्ण सहभागिता र निर्णय प्रकृयामा महिला नेताहरुको उपस्थिति कमजोर देखिएको हो ।’ त्रिपूरा सुन्दरी गाउँपालिकाको पुर्व उपाध्यक्ष समेत रहेकी पाण्डेले राजनीतिक दलमा महिलाको सहज पहुँच नभएकोले निर्णय प्रकृयामा समेत आफूले भेदभाव महसुस गरेको बताइन् ।
नेकपा एमाले धादिङका जिल्ला सचिव राधिका सापकोटाले राजनीतिमा महिलाहरुलाई शंकास्पद दृष्ट्रिले हेर्ने गरिएको बताइन् । ‘पार्टी भित्र नै महिलालाई उच्च तहको भूमिकामा ल्याउने भन्दा सहायक भूमिकामा सीमित गरिन्छ त्यसले पार्टीका नीति निर्माण तहमा महिलाहरूको उपस्थिति न्यून छ’, सापकोटाले भनिन्- ‘एक त नेपाली समाज अझै पनि पितृसत्तात्मक छ, जसले महिलालाई पारिवारिक तथा घरेलु भूमिकामा बढी हुनुपर्ने अवस्था छ भने पुरुषहरू तुलनात्मक रूपमा आर्थिक हिसाबले सबल हुने भएकाले उनीहरूको पहुँच राजनीतिमा बढी देखिन्छ।’
महिला सहभागिता बढाउनका लागि महिलामैत्री नीति प्रभावकारी रूपमा लागू गराई राजनीतिक दलहरूले लैंगिक समानताको प्रत्याभूति गर्ने व्यवहारिक नीति अवलम्बन गर्नुपर्ने सापकोटाको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका लक्ष्मी अर्यालले संविधान र कानुनले महिला सहभागिता सुनिश्चित गरे पनि व्यवहारिक रूपमा प्रभावकारी कार्यान्वयनमा चुनौती रहेकोले राजनीतिमा महिलाले अवसर नै नपाएको गुनासो गरिन । ‘महिलाको राजनीतिप्रति रुचि भए पनि परिवार तथा समाजबाट अपेक्षित समर्थन नपाउने प्रवृत्ति छ । त्यसले पनि राजनीतिक नेतृत्व र निर्णायक भुमिकाबाट महिला बन्चित हुनुपर्ने बाध्यता छ’, नेता अर्यालले भनिन् ।
नेकपा एकीकृत समाजवादीका नेता तथा सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालले महिलालाई घरबाट निस्कन मुस्किल हुने गरेको बताउँदै निर्वाचनमा टिकट पाएपनि भोट पाउन मुस्किल हुने गरेको अनुभव बताउँदै महिलाहरुको आर्थिक रुपमा पहुँच नभएकोले राजनीतिमा पहुँच नभएको बताइन् ।
महिलाहरुको अवसर, चुनौती र सम्भावनाबारे छलफलमा राप्रपाका नेता शान्तिमायाँ गुरुङले सुरुमा आफूलाई गाउँ फर्क अभियानबाट राजनीतिमा ल्याएको र अहिले पार्टीले प्रत्यक्ष अवसर नदिने गरेको बताइन्।
त्यस्तै नेपाली काँग्रेसका नेता कविता इटनीले पार्टी भित्रको पार्टी (गुटउपगुट) ले महिलाहरु सिकार भइरहेको उल्लेख गरिन् । महिलाहरु एक भएर सहभागिता र नीति निर्माणमा पैरवी गर्नुपर्ने उनको भनाई छ ।
नेकपा एमालेका नेता तथा संचारकर्मी गायत्री खतिवडाले महिलाहरुमा राजनीतिक चेतना हुनुपर्ने बताउँदै महिलाका साझा मुद्दामा एक भएर पार्टी भित्र र पार्टी बाहिर पैरवी गर्नुपर्नेमा जोड दिइन् ।
फोकस नेपालले नागरिक आवाजसंगको सहकार्यमा आयोजना गरेको ‘राजनैतिक नेतृत्वमा महिलाहरुको पहुँच’ विषयक अन्तरकृया कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका महिला नेताहरुको सहभागिता रहेको थियो ।
राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता, निर्णायक तहमा महिलाहरुको पहुँच बढाउन र संविधामा महिला सहभागिताको सुनिश्चितताका लागि दवाव सिर्जनाका लागि पैरवी थालिएको कार्यक्रम आयोजक फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले जानकारी दिए । राजनीतिमा महिलाहरुको गुणस्तरीय उपस्थिति सुनिश्चित गर्दै २०८४ को निर्वाचनमा जसको सवाल उसकै नेतृत्वका लागि पैरवी गर्न महिलाहरुको सामुहिक पैरवीका लागि छलफल थालिएको छत्कुलीले बताए ।
छलफल कार्यक्रमपछि धादिङमा महिला नेताहरुले महिलाका विषयमा छलफल गर्नका लागि अन्तरपार्टी समन्वय समिति समेत गठन गरेका छन् । समितिमा नेकपा एमालेका उर्मिला रेग्मी, नेपाली काँग्रेसका देवी पाण्डे, रास्वपाका लक्ष्मी अर्याल, राप्रपाका सुनिता सिंखडा र नेकपा एसका भगवती तिवारी रहने र यसले अन्तरपुस्ता नारीवादी मञ्चमा सहभागी भएर सामुहिक पैरवी गर्ने उनीहरुले बताएका छन् ।