काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारले अध्यादेशमार्फत देश लुट्न लागेको आरोप लगाएको छ ।
बिहीबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले देश लुट्न नदिने भन्दै अध्यादेशको विरोध गर्ने निर्णय गरेको उप महासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
सरकार नै मुठीभर व्यवसायीका पक्षमा लागेकाले भन्दै उनले भने, ‘हेर्दाखेरि अध्यादेशजस्तो देखिन्छ । तर यसले भ्रष्टाचारी र कालोबजारी ऐनलाई तोडमोड गर्यो देश लुट्ने अभिप्राय देखियो । २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन लागु नगर्ने भन्ने बित्तिकै बजारमा सिमेन्टको मूल्य ५ सयबाट ८ सय पुगेको छ ।’
अध्यादेशका विरुद्ध सङ्घर्षमा जान पनि तयार हुनुपर्छ भन्नेबारे बैठकमा छलफल भएको उनले जानकारी दिए ।
त्यस्तै बैठकमा आगामी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डाका विषयमा पनि छलफल भएको भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष माधव कुमार नेपालले पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारेमा ब्रिफिङ गरेका थिए ।
भूमिहीनलाई घरवास दिने संविधानमा व्यवस्था भए पनि त्यसको जगमा टेकेर जङ्गलको जग्गा व्यक्ति र उद्योगहरूलाई दिने खेल भएको भन्दै गिरीबन्धु टि–स्टेटको जग्गा प्लटिङलाई वैधता दिने प्रयास भएको भन्दै एकीकृत समाजवादीले विरोध गर्ने भएको छ ।