– रामकुमार एलन
टिकटकमा धमाधम गाँजा चेप्न थालेका दृश्यहरु आउन थालेका छन् । पहिला हामी गाउँ जाँदा पनि डराउनु पथ्र्यो । किनभने पत्रकार गाउँ गएपछि गाँजाको तस्बिर पत्रिकामा आउँछ र पुलिसले दुःख दिन्छ भन्ने गाउँलेलाई पथ्र्यो । गाउँका साथीभाइ पनि ‘तिमीहरु केही दिन गाउँतिर नआए हुन्छ है’ भन्ने सन्देश पठाउँथे । माघसम्ममा धमाधम गाँजा चेपेर भ्याइन्थ्यो । यसपछि गाँजा लुकाउन कैयौँ घरमा मझेरीमै खाल्डो खनेर पुरिन्थ्यो, पुलिस आउँदा घर पूरै लिपपोत देखेपछि उनीहरु फर्कन्थे । यसरी मझेरीमा खाल्डो खनेर पनि गाँजा लुकाउने चलन थियो । गाँजाखेतीलाई कानूनी मान्यता दिनु पर्छ भन्दैै यही महिना मात्रै मकवानपुरको राक्सिराङ पुगेर नुवाकोटका बहादुर सिंह लामा, बागमती प्रदेशका मुख्यमन्त्रीले पनि ताली खाएछन् ।
यसअघिका पनि थुप्रै नेता र मन्त्रीहरुले गाँजाखेतीबारे कुरा गरेर कतै ताली खाए, कतै जनताको घरमा कैयौँ छाक मासुभातै खाए, कतै मज्जाले भोट पनि खाए, तर नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भनेजस्तो गाँजामुद्दामा झण्डै ९ हजार हिरासत, जेल, मुद्दामा फसिरहेका छन् । तिनीहरु गाँजाका कारोबारी होइनन्, ज्यालादारीमा काम गर्ने केही भरिया मात्रै हुन् । तिनलाई गाँजाको मुद्दाले फसाएको छ, सताएको छ । जेलमा सडिरहेका छन् । असली गाँजाका कारोबारी भेटिन्नन्, जेलभरि भरियाले गाँजा मुद्दामा सजाय काटिरहेका छन् । फेरि पनि हाकाहाकी गाँजा चेपेर ‘चिपड’ बनाइरहेको भिडियो यसपटक टिकटकमा थुप्रै आए, कैयौँ अनुहार त चिन्छु पनि, मेरै गाउँका पनि छन् दमालीहरु । सायद जनता अब प्रहरीसँग डराउन छाड्यो, पत्रकारलाई पनि युट्युबरले जित्यो, त्यही भएर पत्रकारलाई अचेल कोही भाउ दिन्नन् । उसो त गाँजाका मुद्दा उठाएर पदमा बसिरहने, पुगिरहने नेताहरुले पनि कहाँ भाउ पाएका छन् र ?
एकाधपटक भोट खाएपछि तिनले पनि यो मुद्दा बिर्सेकाले उनीहरु पनि जनताको नजरमा उस्तै गिरेका छन् जति त्रिुशलीमा सवारी साधन गिरेका छैनन् !
पचासको दशकमै बागमती प्रदेशमा गाँजाखेती शुरु भएको हो । मकवानपुरको विकट इलाकामा मधेशको पर्सा, बाराका गाँजा व्यापारी पुगे । उनीहरुले गाँजाको व्यावसायिक खेती शुरु गरे । किनभने त्यतिखेर गाउँमा प्रहरी जान सजिलो थिएन । गाउँका प्रहरी चौकी बम हानेर उडाइएका थिए, प्रहरी सदरमुकाम धपाइएका थिए । अझ रमाइलो त धादिङ र मकवानपुरको पहाडी इलाका हुँदै सिधै पर्साका गाउँ र भारतीय इलाका नजिकसम्म दुई–तीन रात हिँडेर पनि भरियाले गाँजा ढुवानी गर्न सक्थे ।
गाँजाको मूल्य राम्रो आउन थालेपछि किसान यसमा रत्तिए । यसैले धेरैको जिन्दगी बनायो पनि र बिगार्यो पनि । कैयौँको जिन्दगी सुधार्न सकिएन होला, बिग्रन त कसैले रोक्न सक्ने कुरै भएन । कैयौँका घरबार बिग्रिए, कैयौँका सपनाको दरबार ढल्यो तर गाउँका बारीमा निरन्तर अहिलेसम्म गाँजा त फल्यो–फलिरह्यो । यसरी महादेवले पनि प्रसाद मानेर पिउने गाँजा, भाङ, धतुरोमा पनि गाँजाले गाउँमा प्रवेश पायो । गाँजापछि भारतीय रुपैयाँले प्रवेश पायो । मधेशका गाँजा व्यापारी र कारोबारीले प्रवेश पाए । बारीका पाटामा फलेका गाँजाका पैसाले गाउँका युवाले चैँ चितवनको सौराहा र धादिङका खोली किनारादेखि काठमाडौँका महंगा होटल, दोहोरी, डान्स बार हुँदै भीमफेदी कारागारसम्मा प्रवेश पाए । यो क्रम जारी छ । केहीले गाँजाको पैसाले सर्लक्क बजारमा घरघडेरी जोडेका छन्, छोराछोरी पढाएका छन् र दुःखसँग सुख विनिमय गरेर आरामको जिन्दगी पनि बाँचिरहेका छन् ।
यो भन्दा फरक कुरा पनि जोडौँ, पछिल्लो केही वर्ष यता पश्चिम मकवानपुरको केही भूगोलमा ‘सेतो सुन’ फल्न थालेको हो । ‘हरियो सुन’ अर्थात् गाँजाले पनि जनताका दिन फिरेन या तस्कर र कारोबारीले सुरक्षित देखे, पछिल्लो समय सेतो सुन अर्थात् अफिम लहलह झुल्न थालेको छ । पोहोर गाउँमै राजनीति गरिरहेको थिएँ । एकपटक पार्टीको कार्यक्रम लिएर गाउँ गएको त जनता आत्तिन थाले । धमाधम अफिम टिपिरहेका थिए ।
एउटा अलि टाठोबाठो त रिसाउँदै आए र भने, ‘तपाईंहरु फेरि किन आएको ?’ उनको आसय बुझेनौँ । गाउँकै स्थानीय भाषा बुझ्ने साथीले स्थानीय भाषामा भनेपछि उनले लामो सास फेरे र भने, ‘अस्ति बुधबार मात्रै पैसा पठाएको, फेरि गाउँ किन आएको भनेर हामी त रिसाएको ?’ उनीहरुले अफिम नफाँड्न हाकाहाकी पैसा दिइएको कुरा गरे । गाउँलेहरु अफिम टिप्न थाले । हामी माख्लो गाउँमा पार्टीको कार्यक्रम गर्ने भन्दै हिँड्यौँ । उनीहरु पनि मेलो पसे, अफिम टिप्न बसे । सुनिए अनुसार, गाउँमै कारोबारी गएर प्रतिकिलो तीन लाख रुपैयाँसम्म अफिमको पैसा दिन्छन् । अब मकैका घोगा, कोदाका कपनी र धानको बाला त परको कुरा, गाँजाको चिपड अर्थात् प्रतिकिलो २० हजार रुपैयाँसम्म आउने गाँजाखेती छाडेर किसानलाई अफिमको लतमा फसाउने काम शुरु भएको छ । बेलैमा जनप्रतिनिधिहरु बोलिरहेका छैनन् । गाउँकै एउटी बहिनीले अफिमको सेता फूलहरुसँग टिकटक बनाएकी छिन् । कमेन्टमा कसैले सोधेको छ, ‘कुन गाउँ हो ?’ उनको जवाफ छ, ‘तपाईं पुलिस हो ?’ कमेन्टमा जवाफ छ, ‘हो ।’ बहिनीको प्रतित्युत्तर छ, ‘उसो भए भन्दिनँ ।’
हो, टिकटकमा यसपटक मेरो पश्चिम मकवानपुरको भूगोलमा धमाधम गाँजाको दाइँ हालेको, यसलाई पहिला चिपड बनाउने भन्थे, गाँजाको दाइँदेखि अफिमका फूलसम्म देखिन थालेका छन् । हाकाहाकी यसरी भिडियो बनाउन आँट गर्नेहरुलाई राम्रो भनौँ कि नराम्रो । केही साताअघि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो गाउँ पुगेर गाँजा र अफिम फाँडेको सदृश्य आएको थियो । बिघौँबिघा गाँजा फाँडेको भनेको केही समाचार पनि बनेका थिए । अहिले फेरि गाँजा पाकेर चिपड बनाइरहेको भिडियो र त्यहाँ चिनिने अनुहार पनि आएका छन् । हुँदाहुँदा अफिमका पनि केही भिडियो मेरो मोबाइलका टिकटकमा आए भने तपाईंको मा पनि पक्कै आयो होला । लागुऔषधको बढ्दो खेती र कारोबारले हामी उँभो लाग्दैछौँ कि उँधो ? यसको लेखाजोखा गाउँको राजनीति गर्नेहरुले गर्नु पर्ने हो । गाउँमा ठिक हुँदैछ कि बेठिक, यसको निदान गर्ने बेला भने पक्कै भएको छ । यो विषयलाई हामीले नदेखे झैँ गरिरह्यौँ भने ठूलै समस्या नजिकै छ ।
संघीयता कार्यान्वयनक्रममा प्रदेश सरकार बनेलगत्तै पहिलो प्रदेश ३ को सभामा त्यतिखेरका प्रदेश मन्त्री केशव स्थापितले गाँजाखेतीलाई वैधानिकता दिने विषयमा प्रस्ताव गरेका थिए । संघीय संसदमा पनि नेकपा एमाले र नेकपा माओवादीका ६३ सांसदहरुले यो विषय दर्ज गरेका थिए । त्यसमा मकवानपुरका विरोध खतिवडा, धादिङका भूमि त्रिपाठी र सिन्धुपाल्चोकमा शेरबहादुर तामाङ पनि थिए । खतिवडा र तामाङ त मन्त्री पनि भए । यसअघिको सरकारमा कृषि समितिमा रहेकी डा. आरजु राणा देउवाले पनि गाँजाखेतीलाई वैधानिकता दिनेबारे छलफल आरम्भ गरेकी थिइन् । अहिले उनी अर्को गठबन्धनको सरकारमा पनि बलशाली मन्त्री छिन् । प्रधानमन्त्रीलाई कुन देश उडाउने भन्नेसम्मको शक्ति भएकी मन्त्रीले गाँजाको मुद्दा चटक्कै बिर्सेकी छिन् । गाँजाका मुद्दा भन्दा सहकारीको मुद्दामा देश विभक्त छ । गाँजाको विरोधमा उस्तै स्वरहरु उरालिएको छ । कतै गाँजाखेती वैधानिक भएर नेपाली जनता धनी भइहाल्छन् कि भन्ने केही बुद्धिजीबीहरुलाई ठूलो डर पनि छ । उनीहरु तर्क गर्छन्, ‘हल्ला गरिएजस्तो गाँजा राम्रो होइन ।’ यसको प्रदूषणले देशलाई अहित गर्छ रे । अर्कातिर दुव्र्यसनी बढ्छन् रे । खोइ, आज तीनदशक गाँजाखेती भएको पश्चिम मकवानपुरमा कोही पनि गाँजा खाएर मरेको अभिलेख छैन, फेन्सिडिल र नाइट्राभेट खानेलाई गाँजाको वास्ता पनि छैन ।
दक्षिण एसियामै मकवानपुर र धादिङका डाँडाकाँडा गाँजाखेतीका लागि राम्रो भनेर काठमाडौँमा भीम उपाध्यायहरु पनि अन्तर्वार्ता दिइरहेका छन् । के गाँजाखेती गरेर गाँजालाई व्यवस्थितसँग निर्यात गरेर हरियो सुनसँग हरियो डलर भित्र्याउने राजनीति खराब हो र ? केही बुद्धिजीबीहरुको सोच र कुरा सुनेर गाउँका यिनै भरियाहरुको नियती चह¥याउँछ, जसले सन्तानका सुखखातिर रातभरि गाँजा बोकेर भारत पु¥याउने काम गर्दा प्रहरीको निशानामा परेका छन् । निकुञ्जमा कैयौँ हराइरहेका छन्, कैयौँले राति तातो गोली खाएका छन् । यो विषय जनताको मुद्दा बनाएर नेताहरुले भोट खान्छन् मात्रै, पदमा पुगेपछि फेरि बोल्न बिर्सन्छन् कि गाँजाखेतीको समृद्धिले अरुको रोजिरोटी गुम्ने भएले नेताहरुलाई तिनीहरुले नबोल्ने बनाउँछन् ? सोध्न मन लागेको छ ।
लागुऔषधले नयाँ र किशोर पुस्ता सकिएको छ, सकिँदैछ । प्रहरी अधिकृतहरु यसै भन्छन् । हाम्रो पुरानो शाही औषधि लिमिटेड अहिले गणतान्त्रिक नाम के औषधि कारखानाले वर्षमा कैयौँ करोडको गाँजा किन्दो रहेछ, हाम्रो प्रहरी चैँ गाउँको गाँजा फाँडिरहेको छ । यस्तो अवस्थामा यसलाई वैधानिकता दिन सकियो भने देशमा ठूलो धनराशी भित्रन सक्छ । हामीले २०७९ को निर्वाचनमा भोट माग्दा दुई सय भन्दा बढी किसान आवद्ध सहकारी खोलेर जेटिए, मल, बीउविरुवा दिने मात्र होइन, गाँजाको उत्पादन, पात, डाँठ, जरा पनि किनिदिने गरी कानून बनाएर यसलाई वैधानिक बनाउने एजेन्डा सुनाएका पनि थियौँ । तर सत्ता र सरकार फरक परेकाले यो मुद्दा ओझेलमा छ । यदि गाँजा वैधानिक भयो भने कोही पनि कुलत र नशा अनि मानवजीवन सिध्याउने अफिमको खेतीमा लाग्दैनन् भन्ने लाग्दछ । गाँजा खेतीबाटै मनग्य आम्दानी भएपछि मान्छे चाँडै धनी बन्ने लोभममा अफिमतिर लाग्दैनन् । अफिम सिंगो मानवचक्र सिध्याउने लागुऔषध हो भनेर हामीले जनतालाई सम्झाउन पनि गाँजाखेतीको वैधानिकतामा स्थानीय सरकारदेखि प्रदेश सरकार र केन्द्र सरकारको कानमा तातो लगाउने काम गरौँ ।
कानून बनेपछि बाँकी सुधार्दै जाउँलन नत्र भने गाँजा फलिरहने, अमुक, अदृश्य तस्कर र कारोबारी फस्टाइरहने र हाम्रा गाउँका सोझासाझा भरिया मात्र जेलमा सडिरहने दिन कहिल्यै अन्त्य हुने छैन । अर्कातिर अहिले त अफिम खेती मात्रै हो, कतै यो नशा गाउँका मानव शरीरमा छिर्न थाल्यो भने रोक्न झन कठिन हुने छ । एकजना प्रहरी अधिकृत भन्थे, ‘एक ग्राम अफिमले ४४ स्टिक माल बन्छ, एउटा मान्छेले लगातार ३ स्टिक माल खायो भने त्यसलाई दुव्र्यसनीबाट रोक्न कसैले सक्दैन ।’
००००