काठमाडौं- बुधबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर स् टेक वन’ले सोमबार बेलुकासम्म देशब्यापी १६० हाराहारीमा शो प्राप्त गरेको छ । कतिपय हलले शो खुलाउन बाँकी रहेकाले संख्यामा वृद्धि हुनसक्छ ।
मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले मात्र देशब्यापी ५६ शो दिएको छ जुन सन्तोषजनक हो । यो फिल्मविरुद्ध जिल्ला अदालत काठमाडौंमा रिट दायर भएको छ । अदालतले मंगलबारको लागि सुनुवाइ तोकेको छ ।
निवेदकको माग बमोजिम अदालतले आदेश दिएको खण्डमा हलले विक्री भैसकेको टिकट फिर्ता गर्नुपर्ने हुन्छ । यसकारण, कतिपय हल अझैपनि अदालतको आदेशको प्रतीक्षामा छन् । अदालतको आदेश नआउँदै केही हलले टिकट विक्री गरिरहेका छन् ।
यसबीचमा, सोमबार बेलुका निर्माताले प्रिमियर शोको पनि आयोजना गरिरहेका छन् । यस्तोमा, सबैको ध्यान मंगलबार हुने अदालती सुनुवाइतर्फ केन्द्रित छ । ‘एक्टर स् टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिब्या रायमाझी, राजवल्लभ कोइराला लगायतको अभिनय छ । राजन भुसाल निर्देशित फिल्ममा खड्काको शीर्ष भूमिका छ ।
अर्को फिल्म ‘एक्टर’का निर्माताले आफ्नो फिल्मको शीर्षकसँग मिल्दोजुल्दो हुँदा आफूले आर्थिक क्षति भोग्नुपरेकाले ‘एक्टर स् टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।