काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले राष्ट्रिय भवन संहिताको पूर्ण परिपालना गर्दै भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका हुन्।
भूकम्पीय जोखिम न्यूनीकरणमा ध्यान दिन नसक्दा र भूकम्प प्रतिरोधी थेग्न नसकेरै भौतिक संरचनाहरु विनाश भएका कारण अथाह जनधनको क्षति हुने गरेको उनको भनाई छ।
उनले प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई ध्यान दिँदै संवेदनशील भू-उपयोगको योजनाको कार्यान्वयनमा सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे।
त्यस्तै सिंहले विपद्का घटनाहरुबाट सुरक्षित हुन आवश्यकता अनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नुपर्ने बताए। उनले कानुनको प्रभावकारी कार्यान्वयनका साथै नयाँ योजना तर्जुमा गरेर बस्तीहरूलाई सुरक्षित राख्नुपर्ने धारणा राखे।