कास्की । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय परिचयपत्र सुशासन कायम गर्नका लागि महत्त्वपूर्ण आधार बन्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्दै उनले आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई ‘सुपर सिटिजनसीप’ का रूपमा समेत लिनुपर्ने बताए ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरूङले हालै अध्यादेशमार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको बताए । उनले भने, ‘नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रबन्ध गरेका छौँ । सुशासनका लागिसमेत महत्त्वपूर्ण पाटो हो ।’