Mon. Jan 27th, 2025

माध्यमिक तहको पाठ्यक्रम परिमार्जन हुँदै, अब विद्यार्थीले भाषा रोज्न पाउने

????????????????????????????????????

काठमाडौं । पाठ्यक्रम विकास केन्द्र माध्यमिक शिक्षाअन्तर्गत कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शैक्षिक सत्र २०८२ बाट लागु हुनेगरी तीनवटा विषयको पाठ्यक्रम परिमार्जन गर्न लागेको हो ।

माध्यमिक शिक्षाअन्तर्गत कक्षा १० देखि १२ सम्म भाषा समूह थप्ने पनि केन्द्रको निर्णय छ । परिमार्जित पाठ्यक्रमलाई छिट्टै अन्तिम रूप दिने तयारी गरिएको छ ।

केन्द्रले आगामी शैक्षिक सत्रका निम्ति कक्षा ९ र १० को गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम परिमार्जन गरेको हो । यस्तै, कक्षा १०, ११ र १२ मा भाषा समूह थप्ने पनि केन्द्रको निर्णय छ ।

कक्षा १०, ११ र १२ मा नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाएर पाठ्यक्रम परिमार्जन गरिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

“अरु विषय र भाषा एउटै समूहमा हुँदा विद्यार्थीहरूले आफ्नो रोजाइको भाषा पढ्नबाट बन्चित हुनुपरेको समस्यालाई सम्बोधन गर्न पाठ्यक्रम परिमार्जन गरिएको हो,” शिक्षामन्त्री भट्टराईले भनेकी छन् ।

हाल कक्षा ९ र १० मा बाहुल्यताका आधारमा स्थानीय भाषा पढाइँदै आएको छ । कक्षा ११ र १२ को पाठ्यक्रममा ऐच्छिक तेस्रोअन्तर्गत नेपाली, अंग्रेजी, नेवारी, हिन्दी, मैथिली, चिनियाँ, जर्मन जापानिज, कोरियन, उर्दू, भोजपुरी, फ्रेन्च, हिब्रू, अरेबिक र संस्कृत गरी १५ भाषा समावेश गरिएको छ ।

तर, रसायन विज्ञान, योग वाद्यवादन, फेसन डिजाइनिङ, पशुपालन लगायतका १५ विषय पनि ऐच्छिक तेस्रो समूहमा नै राखिएकाले विद्यार्थी आफूले चाहेको भाषा छनोट गर्नबाट बञ्चित भएका थिए ।

अब भने नेपालमा बोलिने भाषाहरूलाई छुट्टै समूहमा राखी विद्यार्थीलाई छनोटको दायरा बढाइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कुनकुन वा कति विषय राख्ने, तिनको ‘क्रेडिट आवर’ कति हुने लगायतको टुंगो लगाउन विज्ञहरूको कार्यदलले काम गरिरहेको केन्द्रका निर्देशक वासुदेव वस्तीले बताए ।

About The Author

अन्य समाचारहरु: