Mon. Jan 27th, 2025

त्रिपुरासुन्दरीको राष्ट्रपति रनिङ शिल्डमा दादागिरी ! विद्यार्थीमाथी खेलमैदानभित्रै हातपात

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विवादमा परेको छ । प्रतियोगी विद्यार्थीमाथी हातपात भएपछि प्रतियोगिता विवादमा परेको हो ।

रनिङ शिल्ड अन्तर्गत ‘भाला हान्ने खेल’ प्रतियोगितामा ‘भाला’ कै विषयमा आयोजक, निर्णायक र विद्यार्थीबीच सामान्य छलफल भइरहेको बेला सल्यानटार माध्यामिक विद्यालयका विश्वास श्रेष्ठ र कृष कुमाल माथी एक्कासी हातपात भएको विद्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रयोग भइरहेको भाला बिग्रिएको अर्थात टुप्पा फुत्किएको (भाँचिएको) विषयमा आयोजकलाई जानकारी गराउँदै अर्काे भाला दिन आग्रह गर्दै गर्दा रानीपौवा माविका समर्थक सुजन श्रेष्ठ र केशव रिजालले घाँटीमा समाएर हातपात गरेको सल्यानटार माविले एक ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ ।

श्रोतका अनुसार सुजन आयोजक विद्यालय रानीपौवा माविमा कार्यरत शिक्षक डम्बर श्रेष्ठका छोरा हुन् भने केशव रानीपौवा माविकै कार्यालय सहयोगी ठग बहादुर रिजालका छोरा हुन् ।

त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ११ गतेदेखि जारी छ । दुई जना विद्यार्थीमाथी दादागिरी शैलीमा खेल मैदानभित्रै हातपात भएको सल्यानटार माविका प्रधानाध्यापक ठानप्रसाद बसौैलाले बताए ।

‘भाला हान्ने खेलका लागि हाम्रा विद्यार्थी खेलाडी मैदानमा थिए । भाँचिएको भाला दिएर खेल्न लगाएपछि विद्यार्थीले भाला परिवर्तन गर्न अनुरोध गरे । तर उनीहरुले मानेन्’ प्रधानाध्यापक बसौलाले भने– ‘विश्वास र कृष भाला खेलमा सहभागी होइनन् । अन्य खेलमा सहभागी हुन् । तर साथीहरुलाई भाँचिएको भाला दिएपछि विश्वास र कृषले भाँचिएको भाला समाएर देखाए । त्यसपछि भाला किन भाचिस् भनेर हाम्रो विद्यार्थीलाई खेल मैदानमै सुजन श्रेष्ठ र केशव रिजालले घाँटीमा समाएर हातपात गरे ।’

विद्यार्थीलाई हातपात गरेपछि गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल र आयोजकलाई गुनासो गर्दा वास्ता नगरेपछि सुरक्षाको अनुभुति दिन नसक्दा प्रतियोगिता छोडेर हिड्नु परेको सल्यानटार मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर गैरेले बताए ।

आयोजक विद्यालय रानीपौवा माविका प्रधानाध्यापक शशिधर पाठकले भने सामान्य धकेलाधकेल मात्रै भएको प्रतिकृया दिएका छन् । घटनामा संलग्न सुजन र केशव विद्यालयका छिमेकी युवाहरु भएको र खेल हेर्न मात्रै आएको भन्दै प्रधानाध्यपक पाठकले घटनाको ढाकछोप गरेका छन् । सल्यानटार माविको ध्यानाकर्षण पत्र बुझेका गाउँपालिका उपाध्यक्ष देवराज धरेल र गाउँपालिकाका शिक्षा अधिकृत चम्पा भट्टले पनि घटनाको ढाकछोप गर्दै विवाद समस्या समाधान भइसकेको प्रतिकृया दिएका छन् ।

तर, सल्यानटार माविका शिक्षक, अभिभावक र विद्यार्थीले भने प्रतियोगिताको उपाधि जित्न नदिने मनसायले आफुहरुमाथी दादागिरी शैलीमा आक्रमण भएकोे दावी गरेका छन् । ‘विव्यस अध्यक्ष गैरे भन्छन्–‘अघिल्लो वर्ष पनि हाम्रा विद्यार्थीलाई धम्क्याएर दादागिरी देखाएका थिए । यो वर्ष पनि अधिकांश खेलमा हाम्रा विद्यार्थीहरु अगाडि देखिन थालेपछि हातपात नै ग¥यो । यो सबै उपाधि जित्न नदिने षड्यन्त्र हो भन्ने हामीले बुझेका छौं ।

सल्यानटार माविले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको ध्यानाकर्षणपत्रको कमेण्टमा पनि हातपातमा संलग्न भनिएका सुजनले आफुले नै हात हालेको भन्दै धम्कीपूर्ण भाष्यमा प्रतिकृया दिनुले सल्यानटार माविका शिक्षक, अभिभावक र विद्यार्थीको दावीलाई थप पुष्टि गरेको छ ।

About The Author

अन्य समाचारहरु: