Sun. Jan 26th, 2025

रेल दुर्घटना: ज्यान गुमाएका नेपालीको सनाखत

भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका सात नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उनीहरुको पहिचान सार्वजनिक गरेको हो

मन्त्रालयका अनुसार रेल दुर्घटनामा ज्यान गुमाउनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय मैसारा कामी विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राध रहेका छन् ।

दुर्घटनामा थप चार नेपाली घाइते भएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ । ‘दुर्घटनामा घाइते भएका चार जना नेपालीहरुमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ’, मन्त्रालयले भनेको छ ।

मृतकको शव नेपाल ल्याउन र घाइतेको शीघ्र उपचारका निम्ति नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ ।

गत बुधबार भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै रेल दुर्घटना हुँदा सात नेपालीसहित १२ जनाको निधन भएको थियो ।

About The Author

अन्य समाचारहरु: