काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट नदिएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ असन्तुष्ट बनेका छन्।
धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित आज सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेपछि प्रधानमन्त्री ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउन चाहेका थिए। तर, उनले आज सिंहदरबारमा ओलीसँग भेटै पाएनन्।
त्यसपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई प्रधानमन्त्री ओलीले फेस गर्न नसकेको प्रतिक्रिया दिएका छन्।केपी ओलीले फेस गर्न सकेनन् मलाई, लेखेर साम्पाङले हाँसेको एमोजी पनि राखेका छन्।
त्यसअघि साम्पाङले प्रधानमन्त्री र स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या भएको बताएका थिए।उनले भने, ‘स्वकीय सचिवले फोन उठाइदिए र भेट्न टाइम मिलाइदिए हुन्थ्यो। मलाई त समस्या भयो भने सर्वसाधारणलाई के होला।’
प्रधानमन्त्री सचिवालयले भने आज प्रधानमन्त्रीको मेयर साम्पाङसँग भेटघाटको कार्यक्रम नै तय नभएकाले भेट हुन नसकेको बताएको छ।
त्यसो त मेयर साम्पाङ र प्रधानमन्त्री ओलीबीच पुरानै सम्बन्ध सम्झनलायक छैन। मेयर साम्पाङले चुनाव जितेपछि उपनिर्वाचनमा धरान गएका तत्कालीन एमाले अध्यक्ष ओलीले साम्पाङको जितप्रति असन्तुष्टि जनाएका थिए। साम्पाङले धरानको खानेपानी समस्या समाधान गर्न नसक्ने भनेका थिए।
त्यसपछि गिटार बोकेर गीत अनि सामाजिक सञ्जालमार्फत् लामो समय साम्पाङले ओलीको आलोचना गरेका थिए।