Tue. Mar 4th, 2025

सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र होः ज्ञवाली

पर्वत – एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा पर्‍यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताएका छन्।

नेकपा (एमाले) पर्वतले आजदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे। “सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो”, उनले भने।

मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए।

वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ थियो। सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उनले बताए। कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए।

सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताए। मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनको भनाइ थियो। सरकार भ्रष्टाचारविरुद्ध निर्मम हिसाबले लागेको उनले बताए।

About The Author

अन्य समाचारहरु: