
काठमाडौँ – नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।
महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।