काठमाडौं– गायिका मेलिना राईले प्रेमी ध्रुव गुरुङसँग शुक्रबार लगनगाँठो कसेकी छन् । परिवार, निकट आफन्त र साथीभाइको सहभागितामा गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह समारोह आयोजना गरिएको थियो ।
दिउँसो १ बजेदेखि सुरु भएको वैवाहिक समारोह अपरान्ह ५ बजेसम्म चलेको थियो । गुरुङको घर इलाममा रहेको र उनी बेलायती सेनामा कार्यरत गोर्खा सैनिक रहेको जनाइएको छ ।
केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । बुधबार इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टको खबरलाई पहिलोपटक गुरुङले इन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए ।
युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् । उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि शुक्रबारदेखि सुरु हुँदैछ ।