बायाँबाट प्रस्तोता सुशिल नेपाल, कोच राजु लामा र खेम सेन्चुरी र निर्देशक लक्ष्मण पौडेल ।
काठमाडौं । यसवर्षको प्रतीक्षित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को एक्सक्लुसिभ प्रिमियर गरिएको छ । बानेश्वरस्थित आइएनआईको हल एनबी सेन्टरमा प्रिमियर गरियो ।
हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको शोको छैटौं सिजन शुक्रबारदेखि सुरु हुँदैछ । प्रसारणको पूर्वसन्ध्यामा आयोजित प्रिमियर समारोहमा शोसम्बद्ध व्यक्तिहरू सहभागि रहे ।
हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुसाल, निर्देशक श्याम कँडेल, कोचहरू राजु लामा र खेम सेन्चुरी, होस्ट सुशिल नेपाल र निर्देशक लक्ष्मण पौडेल प्रिमियरमा सहभागि रहे ।
प्रिमियरमा संचारकर्मीसँग कुरा गर्दै निर्देशक पौडेलले नयाँ सिजनमा लोक क्षेत्रबाट खेम सेन्चुरीले कोचको रुपमा प्रतिनिधित्व गर्ने बताए । कोच राजु लामाले सुरुमा आफू नर्भस भएको अनुभव सुनाउँदै एक सिजनमा आउन नपाएको बताए ।
सो अवसरमा ब्लाइन्ड अडिसनको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो । नेपालका बिभिन्न जिल्ला र अन्य देशबाट समेत आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका छन् ।
ब्लाइन्ड अडिसनमा १२० प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । जसको छायांकन सम्पन्न भैसकेको छ । प्रिमियरमा शोका प्रायोजकदेखि संचारकर्मीको उपस्थिती थियो । द भ्वाइस अफ नेपालको सिजन सिक्समा उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राई कोचको रुपमा छन् ।
ब्लाइन्ड अडिसन प्रसारण भइसकेपछि ब्याटल राउन्डको छायांकन सुरु हुनेछ । ‘भ्वाइस अफ नेपाल’मा अघिल्लो संस्करण जस्तै अहिले पनि ब्लक्ड नियम राखिएको छ । ४ जना कोचले यो सिजनभरि एक पटक यस्तो अधिकार प्रयोग गर्ने सक्छन् ।
एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने निर्देशक पौडेलले बताए ।
द भ्वाइस अफ नेपालको सिजन ६ शुक्रबारदेखि हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ । शो प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुनेछ ।