धनगढी-दुई महिना अघि घरभित्रै मृत भेटिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमती जनककुमारीले बीमा रकम हत्याउन भारतीय नागरिकलाई प्रयोग गरी श्रीमानको हत्या गराएकी हुन् ।
अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ ।
राना आफ्नै घरभित्र १३ मंसिरमा मृत भेटिएका थिए । त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा भारतीय नागरिकको समेत संलग्नता खुलेपछि प्रहरीले भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुखलाई पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले सियारामको हत्या उनकी श्रीमती जनककुमारी र भारतीय नागरिक फारुख मिलेर गरेको अनुसन्धानबाट खुलेको बताए । ‘भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिएकी छन्,’ उनले भने ।
जनककुमारीका श्रीमान् सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको डीएसपी जोशी बताउँछन् ।
सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार भारतीय नागरिक फारुखले नेपाल–भारत सीमाबाट तस्करीका सामान ओसारपसारको काम गर्दथे । यसैक्रममा जनककुमारी र फारुखबीच चिनजान भएको थियो ।
उनीहरुले सियाराम रानाको हत्या गरिसकेर शौचालयमा चिप्लिएर लड्दा मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । टाउको र तालुमा चोट लागेको देखिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो ।
खाटमुनि रगत लागेको ईंटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए ।
सोधपुछका क्रममा सियारामकी श्रीमती जनककुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी जोशीले बताए । त्यसपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।