– प्रल्हाद सिटौला
भनिन्छ जन्म र मृत्यु मानिसको बसमा हुदैन। भौतिकवादीहरू यसलाई प्रकृतिको सामान्य नियम मान्छन् भने अध्यात्मवादीहरू ईश्वरको खेल। आखिर जे होस् यस्तै एउटा संयोग विक्रम सम्वत २०२१ साल पौष १५ गते भारतको कोलकत्ता सहरको एउटा गल्लीभित्र एउटा नेपाली बालकको जन्म हुन्छ। बुबा कामको सिलसिलामा कोलकत्ता हुनुहुन्थ्यो र आमा पनि उतै जानुभएको थियो। आजको भारत र त्यतिबेलाको भारतमा आकाश जमिनको फरक छ। त्यतिबेलाको भारत र नेपालको आर्थिक अवस्था भने खासै फरक थिएन। सायद भारतले यति धेरै प्रगति गर्छ भन्ने कुरा त्यतिबेला बुबाआमालाई लागेको भए उक्त बालकलाई नेपाल ल्याउँदैनथे होला। जसो तसो गरेर उतै शिक्षादिक्षा दिनतिर लाग्थे होला।
हुन त सुनको लङ्का छोडेर पनि राम भगवान अयोध्या फर्किनुभएको थियो। यस्तै भयो बुबा जीवनाथ र आमा प्रेमकुमारीलाई पनि कलकत्ता जति नै भव्य सहर भएपनि आफ्नै पाखा पखेरो नै प्यारो लाग्यो। त्यसपछि बुबा जीवनाथले त्यो दुधे बालक र आमा प्रेमकुमारीलाई नेपाल ल्याउनुभयो र आफू भने केही वर्ष कोलकत्तामै काम गर्नुभयो। यसरी कोलकत्ता जस्तो ठूलो सहरमा जन्मेर पनि आफ्नो जीवनको उर्वर समय नेपालको आफ्नै अनकन्टार गाउँमा शिक्षाको ज्योति फैलाउन लागि परेका ती व्यक्ति हुन् नानी बाबु लोहनी जसले आफ्नो जीवनको झन्डै ४१ वर्ष आफ्नै गाउँमा शिक्षाको ज्योति फैलाउन लागि परे र यही पुष १४ गतेबाट अनिवार्य अवकाश लिनुभएको छ ।
नानी बाबु लोहनीको जीवन आफैमा एउटा फिल्मको कथा जस्तो छ। २०२१ सालमा कोलकतामा जन्मिनुभएका लोहनीलाई बुबाकै सल्लाह बमोजिम आमाले नेपाल ल्याउनुभयो। पछि २०२८ सालमा बुबा पनि नेपाल आउनुभयो र धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका ताल्ती स्थित आफ्नै गाउँको पिपलभञ्ज्याङ माध्यमिक विद्यालयमा भर्ना गरिदिनुभयो। पढाइमा सानैदेखि अब्बल लोहनी प्राय कक्षामा प्रथम/ द्वितीय भइरहनुहुन्थ्यो। पढाइलाई अगाडि बढाउने क्रममा २०३३ सालमा पाँच कक्षा पास गर्नुभयो।
पाँच कक्षा पास त गर्नुभयो तर उहाँको जीवनमा ठूलो बज्रपात आइलाग्यो। १२ वर्षको बालक उमेरमा बुबाको माया गुमाउनु पर्यो केही हप्ताको बेथाले नै बुबा जीवनाथको स्वर्गारोहण भयो। घरको जेठो छोरो नौ वर्षको भाइ र आमाको समेत जिम्मेवारी आफ्नै काधमा आयो। एकातिर घरव्यवहार हेर्नुपर्ने अर्को तर्फ आफ्नो पढाइलाई पनि निरन्तरता दिनुपर्ने ठूलो चुनौती बीच २०३४ सालमा कक्षा ६ पढ्न पाउनु भएन। पिपल भञ्ज्याङमा २०३५ सालमा मात्र कक्षा ६ स्वीकृत भयो र २०३५ सालबाट पुन कक्षा ६ को पढाइ सुरु गर्नुभयो। कक्षा ७ सम्म जेनतेन पिपल भञ्ज्याङ माध्यमिक विद्यालयमा नै आफ्नो पढाइ पूरा गर्नुभयो। तर कक्षा ८ यहाँ पढाइ हुँदैनथ्यो। त्यसपछि पढ्नको लागि गजुरी स्थित आदर्श माविमा झर्नुभयो।
घरमा आमा तथा भाइको समेत जिम्मेवारी भएको हुँदा गजुरीमा पढ्नको लागि समस्या भइरहेको थियो। यसै क्रममा २०३८ सालमा पिपल भञ्ज्याङ माविमा नै आठ कक्षा पढाइको स्वीकृत भयो। त्यसपछि पुन पिपल भञ्ज्याङ माविमा नै आएर आठ कक्षालाई निरन्तरता दिनुभयो। नौ कक्षाको पढाइ फेरि पिपल भञ्ज्याङ माविमा हुन सकेन र अर्को वर्ष पुन गजुरी फर्किनुपर्यो। यस्तै आरोह अवरोहको बीच २०४० सालमा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो। २०४० सालमा एसएलसी पास गर्नु अगाडि नै २०३९ सालमा नै टेस्ट दिएपछि पिपल भञ्ज्याङ माविमानै प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिएर पढाउन थाल्नुभयो। पढाइमा राम्रो भएको अब्बल विद्यार्थी राम्रोसँग एसएलसी पास गर्नुभयो। डाक्टर इन्जिनियर पढ्नुपर्छ भनेर सरहरुले भन्थे। बालखमै बुबा बित्नुभएको घरको सारा जिम्मेवारीले कसरी भविष्य अगाडि बढाउने चिन्ताको विषय थियो। यता पढाउन पनि सुरु गरिसक्नुभएको थियो। यसैबीच अब इन्जिनियर पढ्छु भनेर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना हुनुभयो। इन्जिनियरिङ क्याम्पस त भर्ना हुनुभयो तर घरबाट खबर आइरहन्थ्यो।
खेतीपातीको बेला घरमा पनि जिम्मेवारी थियो। उता विद्यालयमा पढाउन पनि सुरु गर्नुभएको थियो। यी यावत समस्याको बीचमा इन्जिनियर बन्ने सपना त्यही चक्नाचुर भयो। २०४३ सालमा प्राइभेट भर्म भरेर आइए पहिलो वर्षको परीक्षा दिनुभयो। गणित विषय लिएर पढियो भने भोलि राम्रो जागिर पाइन्छ भन्ने सोचेर गणित विषय छान्नुभयो। २०४५ सालमा आइए दोस्रो वर्ष पनि पास गर्नुभयो र प्रमाणपत्र तह पूरा गर्नुभयो। पिपलभ ञ्ज्याङमा पढाउने काम पनि जारी नै थियो। यसैबीच २०४५ सालमा निमावि अस्थायी नियुक्ति पाउनुभयो। भाग्य भनौँ या मेहनतको फल त्यही साल प्रावी स्थायी पनि हुनुभयो। पिपल भञ्ज्याङ माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओम प्रकाश चालिसे सर चितवन सरुवा जानुभयो। त्यसपछि पिपल भञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पनि २५ वर्षको उमेरमा नै काँधमा आइलाग्यो।
२०४८ सालमा निबावि स्थायी हुनुभयो भने २०४९ सालमा नै पिपल भञ्ज्याङ माध्यमिक विद्यालयलाई निमाबि स्वीकृत गराउन समेत सफल हुनुभयो। घरपरिवारको जिम्मेवारी तथा विद्यालयको जिम्मेवारीको बीचमा पनि आफ्नो पढाइलाई निरन्तरता दिँदै २०५१ सालमा स्नातक पास गर्नुभयो। त्यो पनि गणित विषयमा। २०५१ सालमा गणित विषय लिएर स्नातक गर्नुभएको नानीबाबु लोहनीले २०५२ साल चैतमा मावि अस्थायी नियुक्ति लिनुभयो। साथै २०५२ सालको आयोगमा समेत आफ्नो आवेदन दिनुभयो मावि गणित शिक्षकको लागि। त्यतिबेलासम्म शिक्षाको महत्त्व धेरै नै बढिरहेको थियो र पिपल भञ्ज्याङ मावि जस्तो ठूलो सेवा क्षेत्र ओगट्ने ठाउँमा मावि विद्यालय चाहिन्छ भनेर आवाज उठाउनुभयो र पहलकदमी पनि गर्नुभयो तर त्यो पहलकदमी सफल हुन सकेन। अझ भनौं शिक्षाको महत्व समाजले बुझ्न सकेन। त्यसपछि मावि गणित शिक्षकको रूपमा २०५२ सालबाटै सत्यवती मावि आदमघाट जानुभयो। ताल्ती जस्तो पछाडि परेको ठाउँमा पनि आठ कक्षा पास गर्ने धेरै विद्यार्थीहरू भइसकेका थिए। उनीहरूलाई मलेखु तथा गजुरीसम्म पढ्न जान कठिन थियो। पछि गाउँका मानिसले पनि आफ्नै ठाउँको माध्यमिक तहको शिक्षक बाहिर गएको छ भन्ने महसुस गरेर नानीबाबु लोहनीलाई कसरी हुन्छ गाउँमै लिएर आएर मावि विद्यालय चलाउने योजना बनाउन थाले।
आफ्नो गाँउ पुर्खाको थलो माया लागिहाल्छ त्यही भएर मावि स्वीकृत गराउन यसो यसो गर्नुपर्छ भनेर पिपल भञ्ज्याङ माध्यमिक विद्यालयका तत्कालीन शिक्षक विष्णुकुमार त्रिपाठी सरको समन्व्यमा २०५५ सालमा मावि स्वीकृत गराउन सफल हुनुभयो। मावि स्वीकृत त भयो तर आफू भने तत्कालै आफ्नै गाउँमा आउन सक्ने अवस्था भएन। २०५२ सालको आयोगको नतिजा २०६० सालमा मात्रै आयो र नानीबाबु लोहनीको नाम पनि निस्कियो। अर्थात् २०६० सालबाट माबि स्थायी गणित शिक्षकको रुपमा आफ्नै गाउँमा रहेको पिपल भञ्ज्याङ माध्यमिक विद्यालयमा सेवा सुरु गर्नुभयो। केही समयपछि नै प्रधानाध्यापकको जिम्मेवारी पनि आइहाल्यो र त्यो भुमिका निरन्तर २०८१ साल पौष १४ गतेसम्म झन्डै २१ वर्ष निर्वाह गर्नुभयो।एकातिर गणित जस्तो धेरै विद्यार्थी फेल हुने विषय पढाउनु र अर्कोतिर विद्यालयको प्रशासनिक काम पनि गर्नु आफैमा चुनौतीपूर्ण कार्य हो। तर पनि आफ्नो विषयमा पालिकामा केही न केही स्थान हासिल गरी पुरस्कृत भई नै रहनुभयो।यसै वर्ष कार्तिकमा सम्पन्न राष्ट्रपति रनिङशील प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा राम्रो खेल प्रदर्शन गरी तीन स्वर्ण सहित छ पदक प्राप्त गरी गाउँपालिकामा पाँचौं स्थान हासिल गर्न सफल समेत उहाँकै कार्यकालको अन्तिम वर्ष सफल हुनुभयो। उहाँको जिवन सङ्गिनी मेनका लोहनी पनि २०६० साल देखि यसै विद्यालयमा कार्यरत हुनुहुन्छ।अर्थात् एउटा पुरै परिवार पिपल भञ्ज्याङ माध्यमिक विद्यालयको शैक्षिक उन्नयनको लागि पर्नुभएको छ।
धादिङ जिल्लाका विभिन्न पुराना विद्यालयहरू मध्येको एउटा विद्यालय पिपलभञ्ज्याङ माध्यमिक विद्यालय पनि हो। र यसलाई अहिलेको अवस्थासम्म पुर्याउन सबैभन्दा धेरै भूमिका खेल्नेहरू मध्येको एक नाम नानीबाबु लोहनीको जसले पनि सम्झिहाल्छ। स्तम्भकारलाई पनि यसै पिपल भञ्ज्याङ माध्यमिक विद्यालयमा २०७६ सालदेखि झन्डै ५ शैक्षिक वर्ष उनै शैक्षिक धरोहर नानीबाबु लोहनी को नेतृत्वमा काम गर्ने अवसर मिल्यो। मेरो अनुभवमा विद्यार्थी र विद्यालयप्रति सधैँ उत्तरदायी भइरहने आदरणीय नानीबाबु लोहनी सर यस भेगकै शैक्षिक धरोहरको रुपमा रहनुभएको पाएको छु। बाल्यकालदेखि नै विभिन्न आरोह अवरोहको बीचमा आफ्नो पारिवारिक जीवन शैक्षिक जीवन र व्यावसायिक जीवन सबैमा अब्बल नै पाएको छु।
लचकतामा अति नै लचकता र कठोरमा पनि अति नै कठोर हुन सक्ने आदरणीय हेड सरलाई झन्डै ५ शैक्षिक वर्ष नजिकबाट नियाल्ने अवसर पाएँ। मलाई अहिले पनि राम्रोसँग याद छ २०७६ साल कार्तिक १७ गते म गाउँपालिकाबाट पदस्थापन पत्र लिएर पिपल भञ्ज्याङ माध्यमिक विद्यालयमा पुग्दा आदरणीय प्रधानाध्यापक नानीबाबु लोहनीले न्यानो स्वागत गर्नुभएको थियो।त्यस दिन बेलुका उहाँले आफ्नै घरमा लानुभयो।आफ्नो र विद्यालयको इतिहास सबै सुनाउनु भएको थियो।मलाई त्याहाँ बस्ने तथा अन्य कुरामा जहिलेपनि सहयोग गर्नु भयो। भौगोलिक लगायत विविध कारणले विद्यालयको शैक्षिक अवस्था भने कमजोर नै रहेको पाएँ। लामो समय निजी विद्यालयहरूमा पढाएर गएको म यहाँको शैक्षिक अवस्था चुड्कीमा नै सुधार्न भूमिका खेल्छु जस्तो लागेको थियो। तर दूरदराजको सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न त्यति सजिलो नभएको आफैले महसुस गरेँ। तर पनि आदरणीय हेडसन नानीबाबु लोहनीसँगको सहकार्यमा आफूले खेल्न सक्ने सबै सकारात्मक भूमिकाहरू खेलिरहेँ र उहाँले पनि मैले यसो गर्नुपर्यो भनेर प्रस्ताव राख्दा कुनै पनि प्रस्तावमा प्रश्न उठाउनु भएन। विद्यार्थीको पढाइ सुधार हुन्छ भने तपाईंको सबै प्रस्ताव लाई साथ दिन्छौं भनेर आदरणीय हेड सर र शिक्षक मित्रहरुले साथ र सहयोग दिइरहनु भयो।
आफ्नो गाउँ ठाउँमा काम गर्दा सानातिना उल्झनहरू त आइहाल्छन् तर पनि आदरणीय नानीबाबु लोहनीको हकमा भने यत्रो लामो समयसम्म काम गर्दा पनि विवादरहित भएर अवकाश हुँदै हुनुहुन्छ।आफूले पाएको जिम्मेवारीलाई सधैँ कुशलतापूर्वक समयमै सम्पन्न गर्ने आदरणीय हेडसर नानीबाबु लोहनी सरलाई अवकाश पछिको योजना के छ त भन्ने स्तम्भकारको प्रश्नमा आदरणीय हेड सरले “उमेरको हिसाबले अवकाश भएपनि अझै पिपल भञ्ज्याङ माध्यमिक विद्यालय र यस भेगको शैक्षिक उन्नयनको लागि आफू क्रियाशील रहने र सक्दो प्रयास गर्ने बताउनुभयो।” म आगामी दिनमा पनि पिपल भञ्ज्याङ माध्यमिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नलाई खेल्न सकिने सबै भूमिकामा कटिबद्द भएर लाग्नको लागि आग्रह गर्दै सुखद अबकास जीवनको शुभकामना दिन चाहन्छु।
अब हेरौं नानीबाबु सर सहभागी केही पुराना तस्बिरहरु