– रामकुमार एलन
अलि अगाडि अक्षय कुमार अभिनित एउटा भारतीय चलचित्र हेरेको थिएँ । त्यहाँ नायकले स्नानकक्षमा पत्नीलाई मायावी पारामा पानीको फोहोराले स्नान गराउँदै पत्नीलाई ‘महारानी’को सुखसयल अनुभूत गराउँदै थिए । तर नायक तुरुन्तै बदलिए । शिशा फुटे । नायिकाको हत्या भयो । नायिका मारेर नायक पुगे बीमा कम्पनी । बीमा कम्पनीले उनलाई भवितव्यमा परेर मरेकी पत्नीको बीमित शुल्क ३ करोड रुपैयाँ दिएपछि फेरि अर्की रानीको प्यासमा नायकको बाँकी जिन्दगी गुल्जार हुने नै भयो । यो चलचित्रको कहानी अघिल्लो वर्ष बारातिर क्यासिनोको कुलतमा फसेका बीमा कम्पनीका कर्मचारीहरुको लहलहैमा लागेर एकजनाले दोहो¥याए । पत्नी बिरामी भएर उपचार गर्दा मृत्यु भएको कागजपत्र बनाइदिने हाम्रा ‘लोकसेवा उत्तीर्ण’ कर्मचारीहरु छन् नै । तिनलाई कागजात मिल्नुपर्छ, समाज, जिन्दगी, हुलिया, आचरण मिले–नमिलेको हेर्न पर्दैन ।
किनभने लोकसेवामा यस्तो प्रश्न पनि सोधिन्न । भोेलि ‘अख्तियारमा फसिन्न’ भन्ने ‘आत्मविश्वास’मा उसले काम गर्छ र कागजात पु¥याउनेले ‘विश्वास’ दिलाउन पर्छ । बारामा पनि बीमक कम्पनीकै कर्मचारीको उक्साहटमा पत्नीलाई सारीको सप्कोको पासो लगाएर घिसारेर मारेर बीमा शुल्क लिने पति, कागजात बनाउने कर्मचारी र अरुलाई ‘स्वास्नी’ मार्न उचालेर उसको बीमा कम्पनीको शुल्कमा पनि कमिसन खाने बीमा कम्पनीका कर्मचारीहरु अहिले हिरासतको हावा खाइरहेका छन् । डेढ करोड रुपैयाँको बीमा गरेर पत्नी मार्न लगाउनेहरु पनि देखिए । यस्तै घटना केही समयअघि नेपालगंजमा पनि भएको थियो । त्यहाँ पनि सबै जेलमै आराम गरिरहेका छन् । कुनै पनि बेला गणतन्त्र दिवस या संविधान दिवसमा तिनीहरु ‘अशल आचरण’का भनेर बाँकी सजाय आममाफीमा परेर फेरि समाजमा फर्केर समाज र अर्थशास्त्रसँगै राजनीति सिकाए भने तपाईं हामीले ‘छेपारोलाई लोप बनाउनु’को विकल्प छैन ।
अब यही हप्ताकै कुरा गरौँ । राति मासु पकाएर, गाउँबाट काठमाडौँमा छोराहरु भेट्न आएका बुबा र भाइलाई मात्र खुवाएनन् मिलन आचार्यले । छिमेकीलाई पनि ‘मैले पकाएको मासु कस्तो छ, चाख्नुस् त’ भन्दै कचौरामा पु¥याए, तिनै मिलन बिहान गायब छन्, कोठामा छोरा भेट्न गाउँबाट आएका बुबा र भाइको शव लडिरहेको छ । शव यति विभत्स छ कि, सिलौटो र डम्बेलले हानेर मारिएको छ । यति मात्र होइन, कहाँ हान्दा चाँडै मान्छे मर्छ भन्ने जानेरै तत्तत् ठाउँमा प्रहार गरिएको छ । तिनै मिलनले महाराजगंज प्रहरीमा पुगेर आत्मसमर्पण गरेनन् मात्र भने, ‘दशैँमै बुबा र आमा मार्न खोजेको थिएँ, असफल भएँ ।’ काठमाडौँमा छोराहरु भेट्न पठाएर भगवानलाई पुज्दै दीयोमा तेल थप्दै बसेकी ती आमाले छोराको बयान सुनेर कति पीडा महसुस गरिन् होला । जसलाई बुढेसकालको सहारा जागिरे बूढो र कान्छो छोरा मारेको चोटले आकुलव्याकुल बनाएको थियो । ठूलो छोराले फर्केर भन्छ कि, ‘बा र भाइलाई अरुले मारे, म भागेर बाँचे आमा, न छु सहारा ।’ तर त्यही कुलंघार छोरो भन्दैछ, ‘दशैँमै बा र आमा मार्न खोजेको थिएँ ।’ उनले मारे भाइ र बुबा । ती आमाको कोख कति चह¥यायो होला ?
यिनै मिलनले गर्दा ८१ वर्षका षडानन्द आचार्यले यो पुसको जाडोमा ठिहि¥याउने काठमाडौँमा छोरा र नातिलाई दागबत्ती दिनु परेको छ । कुलंघार छोरा भनिएका मिलनले नै हो हिन्दू धर्ममा दागबत्ती दिनु पर्ने, तर आचार्य कुलका सदस्यहरुले बरु हजुरबुबालाई लगाए, मिलनलाई दागबत्ती दिनबाट पनि वत्तिचत गराए । किनभने उनीहरुको मिलनसँगको आक्रोश बढी थियो । ५५ वर्षको उमेरमा अफिसले स्कुटी दिएपछि जिल्ला हुलाक कार्यालय खोटाङका कुलप्रसाद आचार्य लाइसेन्सको ट्रायल दिन काठमाडौँ आएका थिए । यो उमेरमा पनि उनलाई लाइसेन्स लिने धोकोले जिन्दगीकै लाइसेन्स खोसियो, त्यो पनि एकैछिन अघि मासुभात पकाएर खुवाउने छोराबाट ।
उसो त पटकपटक लोकसेवाको परीक्षामा नासुमा पनि नाम निकाल्न नसकेका मिलनलाई बुबाले निजामती कर्मचारी बनाउन चाहनु र दुनियाँले अहिलेसम्म आचार्यको छोरा काठमाडौँ बसेर केही गर्न सकेन भनेर गाउँले कुरा काट्नुमै आफ्नो चरम असफलता महसुस गरेर यो घटना गराएको बताएका छन् । त्यस राति पनि सुत्नुअघि बुबाले छोराकै ‘सेटल’को चिन्ता गर्नुबाहेक एउटा बाबुको अरु कुनै गल्ती थिए । अझ भाइ प्रवीण आचार्यको त यसमा कुनै दोष नै थिएन । बुबा र दाइ भएकाले भान्सामा गएर घुप्लुक्क सुतेर निदाएका प्रवीणजस्ता निर्दोषहरुले अककालमा मृत्युवरण गर्नु परेको यो घटनाले भन्छ, ‘मान्छे सहनै नसक्ने बरु मर्न र मार्न तयार हुने अवस्था बन्न थाल्यो ।’ यसको उपज थियो यस्तो घटना । प्रहरीमा मिलन आचार्यले भनेका छन्, ‘दुबैलाई मारेपछि झुण्डिएर मर्न खोजेको थिएँ, गलबन्दीको पासो नै खुस्कियो ।’
काठमाडौँमै मान्छे मारेर कैयौँ दिन प्रहरीको नजरमा नपरी मान्छे जोगिन सक्छ । तर समाजले भन्ने गरेको छ, ‘रगतले पोल्छ, रगतले तान्छ ।’ प्रहरीले खोजिरहेको थाहा पाएर मिलन आचार्य आफैँ प्रहरीमा पुगेर आत्मसमर्पण गरे । प्रेमिकाले नपत्याएको, एउटा जागिर खान नसकेको, बुबाले चिन्ता गरेको र गाउँलेले कुरा काटेको विषयले उनी यस्तो क्रूर हत्यारा बने । जसले कुलको नाम बिगारे भनेर आचार्य परिवारले उनलाई बुबा र भाइलाई दागबत्ती दिन पनि रोके । हिन्दू धर्ममा यो नै ठूलो सजाय हो, जो दाबगत्तीको अधिकार पनि राख्दैनन् । यसो भनेर मात्रै पनि हुँदैन, समाजमा यस्तो मनोग्रन्थी हुर्किरहेको, आफ्नो सन्तान ज्वालामा दन्किरहेको अभिभावकले थाहा पाएनन् भने कैयौँको अकालमै ज्यान जाने देखिन्छ । किनभने समाज अरुको अपमान, आक्रोश र विभेदले थिलोथिलो भइसकेको छ ।
यो हप्ता कतै सन्तान मारिएको त कतै सन्तानबाट मारिएको, बलात्कृत भएको समाचारले सिंगो देश नै आतंकित बनेको छ । क्याम्पस पढ्न शहर बसेकी छोरीलाई प्रलोभनमा पारेर रिसोर्टमा लगेर बलात्कार भएको, बेहोस अवस्थामा उद्धार गरिएको मोरङको घटनाले पनि छोरीहरु अझै असुरक्षित रहेको देखाएको छ ।
यता, साँढे ३ वर्ष एउटै होटलमा खाजा खान जाँदा इञ्जिनियर पढिरहेका धरानका नयन गुरुङको ललितपुरको च्यासलस्थित क्याफेमा चक्कु प्रहार गरेर हत्या भएको छ । एउटा पूर्वबाट काठमाडौँ पढ्न आएका, अर्को सुदूरपश्चिमबाट काठमाडौँमा काम गर्न आएका । जुन होटलमा विश्वासले दोहो¥याएर गइयो, अझ पढाइ पूरा भएको खुशियालीमा साथीभाइसहित पार्टी गरियो, त्यही होटलमा हत्याका सिकार भएका छन् गुरुङ । यो काठमाडौँ उपत्यकाकै घटना हो । जहाँ पढेका मान्छेहरु बस्ने भनेर केन्द्रीय र संघीय राजधानीको घमण्ड पनि गर्छ काठमाडौँ उपत्यका ।
समाज भत्किँदैछ । हाम्रा धर्महरुले शासन गर्न छाडे । हाम्रा कानूनहरु फितलो बन्न थाले । कानून कडा छ । तर जुन उजुरी प्रहरीमा पुग्छ, पछि बयान फेरिन्छ । अदालत पुग्दा त पीडितलाई नै थप पीडित हुने गरी बयान फेर्न बाध्य पारिन्छ र पीडक ठूलै चुनाव जितेकोजसरी फूलमाला लगाएर इज्जतका साथ रिहा हुने चलन छ । आफूलाई परेपछि पैसामा अपराध लुकाउन सबै तयार छन् । पैसा जोहो गर्दै पीडितको मुखमा बुझो लगाएर बयान फेर्न लगाउने चलन छ । त्यही काम अरुबाट भए देशमा कानून किनबेच हुन्छ भनेर भाषण गर्नेहरु पनि कम छैनन् । यसरी राज्यमा शासन हूलको हुँदै जान थालेको छ । जेल जानु सामान्य हो भन्ने भाष्य बनिरहँदा जो कोही ससाना मुद्दामा पनि मार्न तयार हुन्छन् । यो सबैभन्दा डरलाग्दो विषय बनेको छ । हत्याजस्तो संगीन अपराधसँग पनि नडराउने समाज बनाउन तपाईं हामीले कति मेहनत गरेका छौँ ? समीक्षा गर्ने बेला भएको छ । कतै हामीले पैसा र सजायलाई साटेर अपराध गर्नलाई पने उक्सायौँ कि ? दलको झण्डामुनि बसेपछि बलात्कारजस्तो जघन्य अपराधमा पनि उन्मुक्ति दिन थाल्यौँ कि ? हत्याजस्तो संगीन अपराधमा जेल बसेकाहरुलाई पनि ‘अशल आचरणवाला’ बनाएर उन्मुक्ति दिन थाल्यौँ कि ? राष्ट्रपतिको ‘निगाह’ नै अपराधयुक्त भएको भनेर अदालतकै फैसलाबाट फेरि हत्यामा संलग्न युवा जेलबाट फर्केर जेलमै पठाइएको नजिर हामीले बिर्सियौँ कि ? यो समाज जागेका दिन यस्ता अपराधीलाई राष्ट्रपति र अदालतले पनि जोगाउन सक्दैन भनेर सन्देश दिन जरुरी छ ।
अर्कातिर एउटा जटिल प्रश्न तयार भएको छः समाज यतिधेरै विखण्डन र विभाजनको सिकार कसरी भयो ? राम्रो मात्रै सुन्न पर्ने, थोरै पनि आलोचना सुन्नै नसक्ने, आलोचना मनै नपराउने, एकांगी, घमण्डी, चिड्चिडापनको सिकार भइरहेको छ समाज । यसको ओखती के होला ? छोराको चिन्ता गर्दा बाबु मारिनु पर्ने, उधारो बिलको निहुँमा चक्कु प्रहार गर्नु पर्ने आपराधिक मानसिकता कसरी मान्छेमा विकास भइरहेको छ ? अब हामीले यस्ता विषयमा पनि बहस गर्न जरुरी भएको छ । सन्तानको दिमागमा के घुमिरहेको छ ? हाम्रा सन्तानहरु कुन मनोदशामा छन्, सधैँ एउटै व्यवहारले मात्रै उनीहरु खुशी छैनन्, उनीहरुका पनि भावना हामीले बुझिदिनु पर्छ, उनीहरुलाई सधैँ हेलोहोचो, चित्त दुखाइ र अपमान महसुस हुँदा प्रतिशोधमा उत्रन सक्छन्, त्यसैले उनीहरुप्रति समवेदित हुन जरुरी छ भन्ने मनोपरामर्श अभिभावकलाई पनि हुनुपर्ने देखिन्छ । नत्र सन्तानका वैराग्यले तपाईं हामी र हाम्रो समाज यसरी नै विभाजित, विखण्डित र आपराधिक शृंखलाको सिकार हुनेमा शंका छैन । राजनीति गर्नेहरुले यस्तो बुझेनन्, समाज बुझ्नेहरु राजनीतिमा छैनन् । यसको सिकार सर्वसाधारण नै हुने पक्का हो ।
०००००