Fri. Jan 31st, 2025

धादिङको अमिलटारमा नि:शुल्क स्वास्थ्य शिविरमा एक सय ९३ जनाले सेवा लिए

धादिङ-धादिङको गजुरी गाउँपालिका-२ अमिलटार डुडेठाँटीमा भएको निशुल्क बृहत स्वास्थ्य शिविरमा एक सय ९३ जनाले सेवा लिएका छन् । ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको गजुरी गाउँपालिका-२ का वडा अध्यक्ष द्रोण कंडेलले बताए ।

`सबैका लागि स्वास्थ्य भन्ने मुल मर्मका साथ शिविरको आयोजना गरिएको हो । ग्रामिण क्षेत्रका नागरिकले अझै पनि नियमित स्वास्थ्य परिक्षण गर्दैनन् । ठुलै समस्या भए मात्र स्वास्थ्य संस्था जाने गर्दछन् । तर यो शिविरले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी पाएका छन् । नियमित स्वास्थ्य परिक्षण गर्ने बानीको विकास हुने अपेक्षा गरेका छौं´ उनले भने ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण, स्त्री रोग सेवा, भिडियो एक्सरे, हाडजोर्नी, बालरोग, डेन्टल लगायतका सेवाहरु प्रवाह गरिएको उनले बताए । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र उपाध्यक्ष शर्मिला विशुरालले ठुला अस्पताल धाउन नसक्नेहरुलाई यो शिविरमा विशेषज्ञसहितको सेवाले ठूलो राहत पुगेको बताएका छन् । विकास निर्माण जस्तै पालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रमा पनि विशेष योजना बनाएर अघि बढेको उनीहरुको भनाई छ ।

जटिल समस्या भएका केहि केशहरुलाई मनमोहन मेमोरियल मेडिकल कलेज अस्पतालमा निशुल्क उपचार गरिने व्यवस्था गरिएको छ । विरामीलाई अस्पतालसम्म आउन जान सहितको गाउँपालिकाले व्यवस्था मिलाउने आयोजकले जनाएको छ । गजुरी गाउँपालिका वडा नम्बर २ को आयोजनामा डुडेठाँटी आधारभुत स्वास्थ सेवा केन्द्रमा शिविर संचालन गरिएको हो । मनमोहन मेमोरियल मेडिकल कलेज अस्पताल र किर्तिगंगा मेडिकल सेन्टर काठमाडौंको प्राविधिक सहयोग रहेको थियो ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धादिङ अस्पताल, बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन नेपाल, लायन्स क्लव अफ धादिङ भैरवी, लायन्स क्लव अफ धादिङ भैरवीशितल छहारी, प्रयास नेपाल धादिङको समन्वय तथा सहकार्य रहेको थियो ।

About The Author

अन्य समाचारहरु: