Sun. Dec 29th, 2024

एमालेमै फर्किए कृष्ण अर्याल, भन्छन्-‘केही समय घर बाहिर भयौं अब घर फर्कियौं’

धादिङ -धादिङका पुराना कम्युनिस्ट नेता कृष्ण अर्याल पुन: नेकपा एमालेमा फर्किएका छन् । एमालेबाट छुटिएर नेकपा एकीकृत समाजवादीको केन्द्रीय अनुशासन विभाग सदस्यको जिम्मेवारीमा रहेका अर्यालसहित हस्त बहादुर तामाङ (गजुरी), इश्वरी अर्याल (सिद्दलेक) र तुलकुमार श्रेष्ठ (सिद्दलेक) पनि एमालेमा फर्किएका हुन् ।

एमाले पार्टी कार्यालय धादिङबेसीमा भएको बैठकमा चारै जना नेतालाई एमाले जिल्ला कमिटीले स्वागत गरेको छ । समाजवादी पार्टीको भविष्य उज्ज्वल नहहेको र एमालेसंग छुटिएर बस्न नसकिने अवस्था रहेकोले एमालेलाई बलियो बनाउन पुरानै घर फर्किएको प्रतिक्रिया दिएका छन् । एमाले जिल्ला कमिटीको बैठकले स्वागत गरेसंगै बैठकलाई सम्बोधन गर्दै अर्यालले भने-‘बुझेर /नबुझेर केही समय घर बाहिर भयौं । एमाले छोडेर म बाहिर बस्न सकिन । अब घर फर्कियौं ।’

समग्र धादिङको पार्टी निर्माणमा अर्यालको महत्त्वपूर्ण भूमिका छ । नेकपा एमालेमा लामो समयदेखि राजनीति गर्दै आएका अर्याल समाजवादीमा लागेर केन्द्रिय सदस्य तथा केन्द्रिय अनुशासन आयोगको सदस्य समेत भएका थिए ।

घर फर्किएका नेताहरुलाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज खेमप्रसाद लोहनी र नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले एमाले छाडेर अन्य दल पुगेका एमाले नेता तथा कार्यकर्ता क्रमिकरुपमा एमालेमा फर्कने क्रममा रहेको बताए ।

नेकपा एमालेले पार्टी छाडेर अन्यत्र गएका नेता-कार्यकर्ताको घरफिर्ती कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिरहेको छ । जसका कारण एमाले छोडेर बसेका नेता कार्यकर्ताहरु पुरानै पार्टीमा फर्किने र अन्त्र पार्टीबाट एमाले प्रवेश गर्ने क्रम बढ्न थालेको अध्यक्ष त्रिपाठीले बताए ।

About The Author

अन्य समाचारहरु: