Sat. Dec 28th, 2024

आदरणीय गुरु बा ! सबैको प्यारो धमला सर

प्रदीप कोइराला

अन्ततः मेरो आदरणीय हेडसर खिलबहादुर धमलाले आफ्नो शिक्षण कर्मको ३३ वर्ष ७ महिनाको अनवरत यात्राबाट रिटायरमेन्ट लिनुभयो । सरको सेवा निवृत्त जीवन अझ रचनात्मक र उपलब्धिमुलक बन्न सकोस् हार्दिक शुभकामना व्यक्त गर्दछु । भोलीका दिनहरूमा उहाँ कार्यरत रहेको विद्यालय देउराली माध्यमिक विद्यालयले तीन दशक भन्दा बढी समयसम्म विद्यालयको सर्वाङ्गीण विकासमा अतुलनीय योगदान गरि विद्यालयलाई स्याउलाको छाप्रोदेखि अहिलेको अत्याधुनिक प्राविधिक शिक्षालयको स्वरुपमा स्थापित गराउने यस्ता व्यक्तित्वको भूमिकालाई हरेक खाले आग्रह र पूर्वाग्रहबाट निस्किएर कहिल्यै पनि नजरअन्दाज नगरीदिओस्, कामना गरौं ।

उसो त खिलबहादुर धमला सर म कक्षा १ मा अध्ययन गर्दैगर्दाको समयमा देउराली माध्यमिक विद्यालयमा अध्यापन गर्न आउनुभएको मलाई स्मरण छ । उहाँको सरल स्वभाव र बुझाउने शैली सबैको बन्यो । म त्यतिबेलादेखि नै सरको व्यक्तित्वबाट प्रभावित थिए । मलाई कक्षा ८ सम्म अग्रेजी भाषाको जग उहाँले नै बसाउनु भएको हो । फलस्वरूप म पनि आज अग्रेजी विषयको शिक्षक छु । तत्कालीन अवस्थामा विद्यालयमा कक्षाकोठाको अभाव थियो । स्याउलाले छाएको छाप्रोमा अध्ययन/अध्यापन कार्य हुन्थ्यो । धमला सर आएको केही वर्ष पश्चात खै के कारणले हो केही समय उहाँ तत्कालीन पाल्पा सामरीभञ्ज्याङ विद्यालयमा पढाउन जानुभयो । पछि फेरि म अध्ययनरत देउराली प्राविमा नै आउनुभयो । त्यस यता उहाँ यही विद्यालयमा अनवरत रुपमा सेवामा रहनु भयो ।

तत्कालीन अवस्थामा प्रावि तहको पढाइ पश्चात कक्षा ६ पढ्न धादिङबेसी जानुपर्ने यहाँका विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालयलाई प्रस्तावित निमाविमा अपग्रेड गरी कक्षा ६ देखि कक्षा ८ सम्मको पठनपाठन गतिविधि बढाउने प्रक्रियामा सरको प्रमुख भूमिका भएको हामी विद्यार्थीहरुले देखेकै थियौं । हामीलाई स्मरण छ तत्कालीन प्रअ उद्धव लम्सालले सेवा छोडेपछि बद्री कोइराला सर प्रअ हुनुभएको थियो । उहाँ पनि पछि बराहकालिका मावि पूर्सु जानुभएपछि कोपिला पौडेल मिस प्रअ हुनुभएको थियो । त्यही समयमा तलको हाईवे छेउको (हाल ब्लक फ्याक्ट्री रहेको स्थान) जग्गामा विद्यालयको विस्तारित संरचना साँघुरो हुने भएपछि हालको स्थानमा विद्यालय स्थानान्तरण गरिएको थियो । त्यस लगत्तै तत्कालीन प्रअ कोपिला पौडेल सरुवा भएर गएपछि खिलबहादुर धमला सरले हेडसरको जिम्मेवारी लिनुभएको थियो । त्यतिखेर म कक्षा ६ मा पढ्ने विद्यार्थी थिए । उक्त समयमा हाल विद्यालय सञ्चालन भएको स्थानमा सात कोठे ढुंगा र माटोको भवनमा रहेका स–साना कक्षा कोठाहरुमा हामी पढ्थ्यौ । सर प्रअ हुनुभएकै समयमा रेडक्रसको सहयोगमा विद्यालयमा खानेपानीको व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको थियो । सरले पढाइका अतिरिक्त हामी विद्यार्थीहरुलाई अन्य क्रियाकलापमा संलग्न हुन समेत प्रोत्साहित गर्नुहुन्थ्यो । सरकै प्रोत्साहनका म जूनियर रेडक्रस सर्कल, बाल क्लव लगायतका संगठनहरुमा संगठित हुँदै विभिन्न गतिविधिहरुमा समेत भाग लिन्थे । उक्त क्रियाकलापले पछि मेरो व्यक्तित्व विकासमा धेरै सहज बनाएको महसुस गरेको छु ।

म विद्यालय तथा अन्तरविद्यालय सञ्चालन हुने विभिन्न खाले अतिरिक्त क्रियाकलापहरु जस्तै हाजिरीजवाफ, वादविवाद वक्तृत्वकला तथा निवन्ध लेखन प्रतियोगिताहरूमा भाग लिई पुरस्कृत समेत भएको हुन्थे । त्यसै क्रममा सरलाई सम्झनु पर्ने एउटा घटना निकै रोचक छ । तत्कालीन शिक्षा कार्यालयले आयोजना गरेको जिल्ला स्तरीय हस्तकला प्रतियोगितामा हाम्रो विद्यालयको तर्फबाट भाग लिन सरले मलाई हौस्याउनु भएको थियो । कहिल्यै पनि हस्तकलासंग सम्वन्धित सिर्जना नगरेको म लाई सरले नै हौस्याइदिए पछि निकै दोधारका साथ प्रतियोगितामा भाग लिएको थिएँ । उक्त प्रतियोगितामा मैले कागजको मन्दिर बनाएको थिए । तर आश्चार्यको कुरा म उक्त प्रतियोगितामा तृतीय भई रु पाँच सय पुरस्कार समेत पाएको थिए । यो घटनाक्रम सम्झदा म अहिले पनि दङ्ग हुन्छु । देउराली निमाविको विद्यार्थी हुँदै गर्दा सरको प्रेरणाले कोरेका कथाहरू धेरै नै छन् ।

तत्कालीन समयमा धमला सर देउराली माविको नेतृत्वमा रहिरहदा आफू भन्दा माथिल्लो तहको शिक्षक (होमनाथ सर) नीलकण्ठ माविबाट सरुवा भएर आएपछि उहाँले नैतिकताको आधारमा उक्त पद होमनाथ सरलाई सुम्पिई एकदम हार्दिकताका साथ देउराली निमाविलाई मावि विद्यालयमा अपग्रेड गरी अघि बढाउने काममा दत्तचित्र् भएर लाग्नु भएको थियो । त्यस वखत देउराली निमाविलाई मावि बनाउने होमनाथ सरको प्रयासलाई खिल सरले धेरै साथ दिनुभएको थियो । उक्त समयमा सरले मावि तहमा सामाजिक र नेपाली विषयको अध्यापन गराउनु हुन्थ्यो । यसै सन्दर्भमा म देउराली माविमा म पुन शिक्षक बनेर प्रवेश गरेको थिएँ । होमनाथ सरको कार्यकालमा समेत खिलबहादुर सर निकै अनुकरणीय हुनुहुन्थ्यो ।

होमनाथ सर रिटायर्ड भएपछि फेरि प्रअको भूमिका उहाँको जिम्मेवारीमा आइपुग्यो । तत्कालीन शिक्षक हरु मध्ये सबै भन्दा सिनियर र योग्यतामा पनि स्नातकोत्तर पूरा गरेको व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । होमनाथ सरको रिटायर्ड पछि उहाँको दरबन्दीमा लगत्तै चन्द्र कुमार श्रेष्ठ सर आइपुग्नु भयो । खिलबहादुर सर भन्दा चन्द्र सर सिनियर हुनु भएकोले खिलबहादुर सरले चन्द्र सरलाई पटक पटक प्रअको जिम्मेवारी लिन आग्रह गर्नु भएको हामीलाई थाहा छ । तर चन्द्र सरले खिलबहादुर सरलाई विस्तापित गरेर आफू प्रअ कहिल्यै नबन्ने कुरामा ढिपी कसेपछि सरले प्रअको भूमिकालाई निरन्तरता दिनुभएको थियो । पदीय हैसियतको माखेलोभ सदैव तुच्छ हुनुपर्दछ भन्ने कुरा मैले पनि चन्द्र सरबाट सिकेको हुँ । पदको लालच चन्द्र सरले कुनै पनि वहानामा आजसम्म पनि देखाउनु भएको छैन । त्यसबेला विद्यालय पहिलो पटक एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराउने तरखरमा थियो । यो लगभग २०६४ सालतिरको कुरा थियो । उक्त समयमा म अग्रेजी विषय पढाउँथे । उहाँको निकै सौहार्दपूर्ण तथा सिर्जनशील व्यवस्थापनमा कक्षा १० को पठनपाठन क्रियाकलापहरु अघि बढ्दथे । त्यसबेला विद्यालयलाई उत्कृष्ट बनाउन धेरै मेहनत गरियो । प्रेरणा खिलबहादुर सर कै थियो । यतिसम्म कि त्यस बेलामा हामी एसएलसी दिने विद्यार्थीहरूको अभिभावकसंग परामर्श गर्न तथा सिकाईमा विद्यार्थीलाई प्रोत्साहित गर्न प्राय साँझ कुनै न कुनै टोलमा जान्थ्यौं र अभिभावकहरुसंग आवश्यक परामर्श गर्दथ्यौं ।

म देउराली माविमा २०७६ साल तिरसम्म मात्र कार्यरत रहेँ । उक्त समयावधिसम्म मैले खिलबहादुर धमला सरको पेशागत, प्रशासनिक र सामाजिक अभियान निकै मिहिन तरिकाले अवलोकन गर्न पाएको छु । उहाँ स्वभावमा निकै भद्र, अनुशासित तथा आग्रह अनुग्रह कत्ती पनि नबोकेको मान्छे हुनुहुन्छ । काम गर्न खोज्नेलाई निकै हौसला र उत्प्रेरणा पनि दिने मान्छे हुनुहुन्छ । म वास्तवमा आज यो अवस्थाको शिक्षक बन्न उहाँ कै प्रेरणा धेरै छ । देउराली माध्यमिक विद्यालय मलाई शिक्षक बनाउने आधार स्तभ हो भने त्यहाँका तत्कालीन प्रअ खिलबहादुर सर मेरो शिक्षक कर्मको स्कुलिङको प्रथम मास्टर समेत हुनुहुन्छ । म उक्त विद्यालय र तत्कालीन हेडसर प्रति सदैव ऋणी रहन्छु । उक्त विद्यालयमा रहँदा मैले गर्ने हरेक सिर्जनशील कर्मलाई सधैं प्रोत्साहित गरिरहनु हुन्थ्यो । विद्यालयमा मैले परीक्षा विभाग, अनुशासन विभाग तथा माविको तहगत इन्चार्ज तथा अतिरिक्त क्रियाकलापको संयोजकको भूमिकाहरु समेत निर्वाह गरेर उहाँको प्रशासनिक कर्ममा सघाउने प्रयत्न समेत गरेको थिए । अनुशासन विभागमा रहँदा मैले अलि कडक शिक्षकको उपमा पाई आलोच्य समेत भएको थिए । उहाँले भने सदैव प्रेरणा दिइरहनु हुन्थ्यो । उहाँकै प्रशासनिक नेतृत्वको सहजताको कारण हामी खुलेर विद्यालयमा काम गर्न सक्थ्यौं । उहाँको प्रशासनिक उदारताको अनावश्यक फाइदा मैले भुलेर पनि लिइन । म उहाँ कै विद्यार्थी तथा पछि सहकर्मी हुँदा समेत कहिल्यै पनि उहाँले बराबर भन्दा तलको व्यवहार गर्नु भएन । आफूले नजानेका कुराहरू सहज तरिकाले सोध्ने र प्राय समस्याहरूको सामाधानको बारेमा समेत राय सल्लाह माग्ने उहाँको स्वभाव थियो । स्थापित प्रणालीमा चल्ने हरेक संस्थाहरुमा एकाध मुसो प्रवृतिहरु उद्यत हुने नै गर्दछ । म हरेक खाले मुसो प्रवृत्तिसँग सावधान रही आफ्नो प्रशासनको सकारात्मक भूमिका तर्फ सदैव वफादार थिए । उसो त धमला सरको कार्यकाललाई समुदायका एकाध फोहरहरुले आफ्ना फाइदा वेफाइदा तराजु ढल्काउँदै दलीय चस्माले नियालेर हिलो छ्याप्ने हर्कत पनि नगरेका होइनन्, तर म सधैं उक्त प्रवृत्तिको विपक्षमा रहँदै सरलाई स्थानीय वस्तुस्थितिबाट सजग समेत गराउँथे, र प्रतिकार समेत गर्दथे । सबै स्टाफहरुलाई मिलाएर लैजाने, कसैलाई पनि जानी जानी चित्त दुखाउन नचाहने, सबैको क्षमताको कदर गर्ने उहाँको सरल बानी सबैलाई अनुकरणीय छ ।

देउराली माध्यमिक विद्यालयको भविष्यसँग उहाँले कुनै पनि कुराको सौदावाजी गर्नु भएन । स्कुल भन्दा आफूलाई कहिल्यै अघि सार्नु भएन । धमला सरले देउराली स्कुलको अस्तित्वलाई नै अफ्ठ्यारो बनाउने गरी भए हुने गरेका वरिपरिका शैक्षिक अभियानको सदैव विरोध गर्नुभयो । मलाई सम्झना छ वरिपरि यस्तै प्रकारको अभियान अघि बढ्दै गर्दा देउराली माध्यमिक विद्यालयका तत्कालीन सरोकार राख्ने व्यक्तित्वहरु र भविष्यमा पनि निश्चय नै सरोकार राख्ने, विद्यालयसँग अझ नजिक हुनुपर्ने व्यक्तित्वहरुले नै खिलबहादुर धमला सरसँगको राजनीतिक नाता केलाएर सार्वजनिक स्थानहरुबाटै स्कुलकै भविष्यको बारेमा तुच्छ अभिव्यक्तिहरु दिँदै हिँडेको अवस्थामा धमला सर अब कसरी स्कुलको तत्कालीन साखलाई कायम राखिरहन सकिन्छ भन्दै बढो गम्भीर बनेर लाग्नु भएको थियो । यही परिवेशमा प्राविधिक शिक्षालयको सम्भावना देखेर त्यता लाग्न उहाँ कम्मर कसेर लाग्नु भयो । यही अवस्थामा मैले पनि सरलाई डकुमेन्टेसन तथा शिक्षक व्यवस्थापन लगायत अन्य धेरै कुरामा सहयोग गरेको थिए । त्यसपछि मैले नचाहदा नचाहँदै पनि देउराली माविसँगको कर्म नाता टुटाउनु पर्ने अवस्था आयो । धमला सर कै सामिप्यतामा रहेर सरले सिकाउनु भएको देखाउनु भएको र सरबाटै मैले जानेका, सिकेका कुराहरू समेट्दै जिल्लाकै कतिपय निजी विद्यालयहरुमा तथा क्याम्पसहरूमा समेत योगदान गर्दै देशको अति सुविधा सम्पन्न क्षेत्र लगभग राजधानी कै एउटा ठूलो विद्यालयमा समेत उक्त सीप तथा कलालाई उर्जाशील भै कार्यान्वयन गराउन पाए । यतिमात्रै नभएर जिल्लाकै उत्तरी क्षेत्रको सबैभन्दा ठूलो तथा प्रख्यात विद्यालयमा शिक्षक हुँदै प्रधानाध्यापकको समेत भूमिका निर्वाह गरेर अहिले छिमेकी पालिकाको विद्यालयमा कार्यरत छु । उसो त मेरा शिक्षण कर्मको हरेक वर्तमानका पाइलाहरुले म र मेरो अस्तित्व निर्माणमा उत्तिकै भूमिका निर्वाह गरेको छ, मैले काम गरेका हरेक विद्यालयहरू, त्यहाँका प्रअहरु तथा शिक्षक साथीहरु मेरा शिक्षण कर्मका प्रेरणा हुनुहुन्छ, त्यस मध्येको अग्रणी व्यक्तित्व चाहिँ खिलबहादुर धमला सर हुनुहुन्छ ।

यद्यपि मेरो विद्यार्थीकालको पनि हेडसर, शिक्षण कर्मको सुरुवाती दिनहरूको पनि हेडसर, आदरणीय खिलबहादुर धमला सरलाई सेवानिवृत्त जीवनको फेरि पनि धेरै धेरै शुभकामना ।

सेवा बाहिर रहँदा समेत हाम्रो सम्बन्ध र नाता सदैव सुमधुर रहीरहोस् । शुभकामना आदरणीय गुरु बा !!!!

About The Author

अन्य समाचारहरु: