काठमाडौं – क्रिसमसको अवसर पारेर बुधबारदेखि प्रदर्शन हुन लागेको आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि भारतीय स्टार ह्यारी जोश काठमाडौं आएका छन् ।
थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका जोश मंगलबार दिउँसो काठमाडौं आएका हुन् । उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचारप्रसार गर्नेछन् । मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी छ ।
बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन् । बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् । त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन् । त्यसपछि उनी मुम्बई फर्किने योजना छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई फिल्मका निर्देशक बाबु बलामी, अभिनेत्री अनुजा लेप्चा र निर्माताले स्वागत गरे । अभिनेता जोश आउनुअघि फिल्मका अर्का भारतीय अभिनेता कुन्दन भारद्वाज पनि काठमाडौंमा आएर प्रचारप्रसारमा जुटिसकेका छन् ।
मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको पनि अभिनय छ ।
यो फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ । नेपालमा क्यूएफएक्स लगायतका हलले शो खुलाएका छन् ।
अभिनेता जोशको कुरा गर्दा, उनले चर्चित भारतीय फिल्महरू वान्टेड, वेलकम, धुम २, टार्जन द वन्डर कार, रमैया वस्तभैया, सिंह इज ब्लिङमा अभिनय गरेका छन् । राम चरणको आउँदो फिल्म ‘गेम चेन्जर’बाट उनले टलिउडमा पुनरागमन गर्दैछन् । यो फिल्म प्रदर्शन तयारीमा छ ।